ललितपुर
जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोग चलन गर्दै आएको छ । तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल नै थाहा छ ।
लालपुर्जाबारे जानकारी माग्दा वितरण शाखा प्रमुख वीरेन्द्रकुमार शाहले प्राधिकरणको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन महाशाखामा हुन सक्ने बताए । तर महाशाखाले उक्त जग्गाबारे कुनै विवरण दिन सकेन । उक्त जग्गाबारे खोजबिन गर्दा नेपाल विद्युत् प्राधिकरणको नाममा नभई गुठी र व्यक्तिको नाममा भएको तथ्य फेला परेको छ । चल्तीको मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको भोग दशकौंदेखि प्राधिकरणले गर्दै आए पनि उसका नाममा लालपुर्जा प्राप्त नभएको देखिन्छ ।
यसबारे प्राधिकरणको ललितपुर वितरण केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म जानकारी माग्दा स्वामित्व या भोगाधिकारको कुनै विवरण उपलब्ध हुन सकेन । मालपोत कार्यालयको रेकर्डमा विभिन्न कित्ताका जग्गा गुठी र व्यक्तिका नाममा छन् ।
उक्त जग्गामा प्राधिकरणअन्तर्गत काठमाडौं ग्रिड महाशाखाको पाटन सबस्टेसनदेखि वितरण महाशाखाका भवनहरू बनेका छन् । नापी कार्यालयले उपलब्ध गराएको नक्सामा ललितपुर महानगरपालिका अन्तर्गत कित्ता नं. ५ ‘क’ को ९९, १००, १०३, २८६, २९२ लगायत विभिन्न कित्ताका जग्गा नेपाल विद्युत् प्राधिकरणले उपभोग गर्दै आएको छ । नागरिकले जिल्ला मालपोत कार्यालय ललितपुरसँग ती कित्ता नम्बरहरूको जग्गाको हकवालाबारे जानकारी माग्दा व्यक्ति र गुठीका नाममा रहेको पाइएको छ ।
जसमध्ये कित्ता नं. १०३ नन्दकेशरी गुठी, २८६ मच्छिन्द्रनाथ गुठी, १०० गिरिमान शाक्य र ९९ हरेन्द्रमान शाक्यको नाममा दर्ता छ । कित्ता नं. २९२ बारे भने कुनै जानकारी प्राप्त हुन नसकेको मालपोत कार्यालय ललितपुरका प्रमुख भीमकान्त पौडेलले जानकारी दिए।
नागरिकबाट





























प्रतिक्रिया