कालोपत्रे भएको दुई हप्तामै भत्कियो बौद्ध–जोरपाटी सडक

कालोपत्रे भएको दुई हप्तामै भत्कियो बौद्ध–जोरपाटी सडक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक अन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै भत्किएको छ ।

यो सडक गत चैतको अन्तिम सातामा कालोपत्रे भएको थियो । निर्माण कम्पनी युनाइटेड विल्डर्सले यो सडक कालोपत्रे गरेको हो । कालोपत्रे भएकै बेला सम्झौतामा तोकिए भन्दा कम निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए ।

यो सडक निर्माण शुरु भएको लामो समयसम्म पनि दायाँबायाँका घर नभत्काएकाले ‘साइड क्लियर’ नभएको भन्दै बन्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घर भत्काउने फैसला सुनाएपछि सरकारले अहिले भएकै चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरेको वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम गरेका छैनन् । करीब ११ किमीको यो सडकको धेरै ठाउँमा अझै कालोपत्रे भएको छैन । एक दिन काम गरे हप्ता दिनसम्म काम रोकिने, करोडौँको ठेक्का लिएर चार पाँच जना मजदूर मात्र काममा उतार्ने गरेको स्थानीयवासी श्याम बरालले गुनासो गरे ।

दुई साता अघि गरिएको कालोपत्रेको गिट्टी निस्किएर पहिलेकै अवस्थामा सडक फर्किएको छ । कालोपत्रे गरेको दुई सातामा फेरि सडकमा पानी जम्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाले कालोपत्रे भइरहेका बेला कामको अनुगमन गरेको थियो ।
राजधानीबाट

Logo