तीन सय विद्युतीय बस ल्याउँदै सरकार

तीन सय विद्युतीय बस ल्याउँदै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन् । विद्युतीय यातायातको विकास अन्तर्गत काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको मन्त्री बस्नेतले जानकारी दिए ।

विश्व हरित वृद्धि संस्था’ (जिजिजिआइ) सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपालको विद्युतीय यातायात प्रवर्द्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्री बस्नतेले सोमबारै नेपालमा जिजिजिआई कार्यालयको उद्घाटनसमेत गरेका थिए । मन्त्री बस्नेतले जिजिजिआई सहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको उल्लेख गरे । जिजिजिआइसँगको सहकार्य नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनी भएको उल्लेख गर्दै मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित सहरका क्षेत्रमा जिजिजिआइसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको बताए ।

जिजिजिआइका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले कार्वन उत्सर्जन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा जिजिजिआइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित सहर प्रवद्र्धन गर्ने सम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो ।
नागरिकबाट

Logo