डोटीमा ९८० मा एचआइभी सङ्क्रमण

डोटीमा ९८० मा एचआइभी सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

डोटी

जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्क अनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो ।

सङ्क्रमित मध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भुषण मिश्रले बताउनुभयो । अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उहाँले अनुमान गर्नुभएको छ ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान चिकित्सक मिश्रको छ । उहाँका अनुसार अपहेलना हुनसक्ने भएकाले यहाँका एचआइभी सङ्क्रमित महिला खासै खुलेर भन्न सक्दैनन् र उपचार गराउन आउँदैनन् ।

जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात् एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तीमा पनि ५१८ जना नियमित सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०/१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमितले जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् ।
रासस

Logo