काठमाडौं
लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आइतबारको बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय सुनाउनुभयो । हिमाल, पहाड र तराईमा नयाँ शहर निर्माणका लागि एकीकृत अवधारणा तयार पार्न समितिले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बजेटको सुनिश्चितता भए ६ महीनामै काम शुरु गर्न सकिने गरी तयारी भइरहेको बताउनुभयो । एक सय ८५ नगरपालिकामा एकीकृत शहरी पूर्वाधारको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा सांसद राजेन्द्र लिङ्देन, टोपबहादुर रायमाझी, प्रभु साह, मीना श्रेष्ठ लगायतले एक दशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ अझै शुरु हुन नसक्नुका कारण के के हुन् भनी सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाई छलफल गरिनु पर्ने बताउनुभयो । बाहिरी चक्रपथ, नयाँ शहर, स्मार्ट सिटी लगायत काम गर्दा समन्वयात्मकरुपमा गर्ने गरी संयन्त्र बनाइनुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो । उपत्यकाका तीनै जिल्लालाई समेट्ने गरी ७२ किमी लामो बाहिरी चक्रपथ बनाउने चर्चा शुरु भएको दशक नाघिसकेको छ ।
पहिलो चरणमा सतुङ्गल–चोभार–गाम्चासम्मको ६ दशमलव ६ किमीमा जग्गा विकास योजना अनुसार काम अघि बढ्ने भनिए पनि मन्त्रालयबाट निर्णय नभएकाले काम हुन नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । लगभग ६ किमी बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव नै अन्योलमा रहेको जनाइएको छ ।
रासस





























प्रतिक्रिया