सामान्यत: अस्पताल आउजाउ गर्न र यस्तै आपतकालीन अबस्थामा बाध्यताबश ट्याक्सी चढ्ने गरिन्छ । प्राइभेट सवारीसाधन नहुनेहरुका लागि ट्याक्सीको कुनै बिकल्प पनि छैन। यसरी बाध्याताबश चढिने ट्याक्सीका चालकहरुमा मानवीयताको स्तर चाँही कति होला ?
ट्याक्सी भाडाको सम्बन्धमा त धेरै टिका टिप्पणी र बहसहरु भैरहेका छन्। उता ट्याक्सी चालकहरुले पनि समयानुकुल भाडा समायोजनका लागि आन्दोलन गरिरहेकै छन्। तर यहा एकजना ट्याक्सी चालकले अलिकति पनि मानवीय समबेदना नराखेको प्रसङ्ग छ। जसले बिरामीलाई अस्पताल लैजानुको सट्टा बाटोमै मिल्काए। उनको यिनै अमानवीयताका कारण बिरामीको मृत्यु भयो।
घटना चैत १३ गते बिहान करिब साढे ११ बजेतिरको हो। काठमाडौँकोगोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित नियमित चेकजाँच गर्न मेडिकेयर अस्पताल पुगे। छोरा प्रवीणसंगै अस्पताल पुगेका उनी बा १ ख ३८५१ नम्बरको ट्याक्सी चढेर घर फर्कंदै थिए। बुबालाई ट्याक्सीमा घर पठाएर प्रवीण भने मोटरसाइकलबाट घर फर्केका थिए।
ट्याक्सी चालक थिए दोलखाका ५० वर्षीय कमलबहादुर श्रेष्ठ। उनी अहिले महानगरीय प्रहरी प्रभाग, गौशालाको हिरासतमा छन्। उनले दिएको बयान अनुसार ट्याक्सी चढ्ने बितिकै गोपाल सिटमै उफ्रिन थालेका थिए। बिरामीको अबस्था देखेर डराएका उनले हेल्पिङ ह्याण्ड्स अस्पताल अगाडिको खाली ठाउँमा लगेर बिरामीलाई सडकमा निकाले। उनले गोपाललाई जबर्जस्ती तानेर सडकमा निकालेको भिडियोमा देखिन्छ।बिरामीलाई सडकमा निकालेपछि उनी भागे।
पछि नजिकै रहेका सुरक्षाकर्मीले कारञ्जितलाई अस्पताल लगेका थिए। तर, उनको ज्यान बच्न सकेन। उनको बारेमा थप अनुसन्धान भैरहेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
सामाजिक सञ्जालमा ट्याक्सी चालकले अमानवीयताको चरम सिमा नाघेको भनेर चर्को बिरोध भैरहेको छ।





























प्रतिक्रिया