विराटनगर । मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटिएको छ। राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै भेटिएको हो।
मोरङ तत्कालीन एमालेका पूर्वअध्यक्ष एवं सत्तारुढ दल नेकपाका नेता योगेन्द्र गुरुङले राईको हत्या गरेर शव सप्तकोसीमा फालेको स्वीकार गरेका छन्। सेतो बोरामा हात खुट्टा बाँधेर फ्यालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
माछा मार्नेक्रममा बोराभित्र शव देखेपछि माझीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीकै आग्रहमा उनीहरुले डुंगाको प्रयोग गरेर लगभग दुई घण्टा लगाएर शव बाहिर निकालेका हुन्। राईका आफन्तले शव रमिलाकै भएको पुष्टि गरेपछि प्रहरीले मुचुल्का तयार पारेको छ।

नेकपा नेता गुरुङले फागुन १७ गते राति हत्या गरेर १८ गते बिहान २ बजेर ५६ मिनेटमा राईको शव कोसी ब्यारेजमा फालेको बयानका क्रममा स्वीकार गरेका छन्। गुरुङलाई प्रहरीले फागुन २४ गते इलामबाट पक्राउ गरेको थियो।
प्रहरीसँगको बयानमा गुरुङले हत्या गरेर बा १५ च ७९१६ नम्बरको कारमा राखेर शव कोसीमा फालेको स्वीकार गरेका हुन्। हत्या गरिएकी राई र गुरुङबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ।
रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। रमिला बेपत्ता भएको भन्दै उनकी बहिनीले फोन गरेपछि गुरुङसमेत पटक-पटक रमिला बस्दै आएको माइती घरमा पुगेका थिए।
रमिलाको खोजी गर्न भन्दै गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए। हत्या गरिएकी राई सम्बन्ध विच्छेद गरेर बेलबारीस्थित माइतीमै बस्दै आएकी थिइन्।
उनकी एक छोरी छन्। गुरुङका भने श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्। उनी नोबेल सामुदायिक अस्पताल बेलबारीका अध्यक्ष हुन्।





























प्रतिक्रिया