पशुपन्छी र माछा आयात बन्द

पशुपन्छी र माछा आयात बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मासु उपभोगका लागि यसअघि भारतबाट पशुपन्छी ( खसी बोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर,  कच्चा मासु लगायत) को अवैध आयात हुन्थ्यो । त्यसलाई रोक्न सरकारले कडाइ गरेको छ । सरकारले माछामा पनि रोक लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा पाँच दिनदेखि पशुपन्छी आयात ठप्प छ । मन्त्रालयले स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन र मासुजन्य पशुपन्छीमा मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ रणनीति अख्तियार गरेको बताएको छ ।

सरकारले कडाइ गरेपछि पछिल्लो पाँच दिनदेखि भारतबाट मासु प्रयोजनका कुनै पनि पशुपन्छी आयात नभएको चौपाया खरिदबिक्री सेवा केन्द्रका पूर्वअध्यक्ष दीपक थापाले बताए । ‘भारतबाट कुनै पनि पशुपन्छी आएका छैनन् । हामीले अहिले स्वदेशमै उत्पादित खसीबोका ल्याएर बेच्दै आएका छौं’, उनले भने ।

सरकारकै लापरबाहीका कारण यस अघि भारतबाट मासुजन्य पशुपन्छीको आयात हुने गरेको उनको भनाइ छ । ‘सरकारले ढिलै भए पनि स्वदेशी उत्पादनको हकमा उदाहरणीय काम गरेको छ’, उनले भने । तर सरकारको नयाँ रणनीतिसँगै व्यवसायीले बजारमा मासुजन्य पशुपन्छीको कृत्रिम अभाव सिर्जना गरेका छन् । र मासुको मनलाग्दी मूल्य तोक्न थालेका छन् ।

संघीय संसदमा सांसदले भारतबाट आउने मासुजन्य पशुपन्छीको गुणस्तरमाथि प्रश्न उठाएपछि कृषि विकास तथा पशुपन्छी मन्त्रालयले पशु स्वास्थ्य तथा सेवा ऐन, मासु जाँच ऐन, पशुपन्छी ढुवानी ऐन लगायतलाई एकीकृत रूपमा कडाइका साथ कार्यान्वयनमा ल्याएको हो । प्रतिबन्धपछि भारतबाट आउने सरुवा रोगमा नियन्त्रण आउनेछ ।

भारतबाट वार्षिक सवा चार अर्ब रुपैयाँको जिउँदो पशु, १८ करोडको तयारी कच्चा मासु र एक अर्ब ८३ करोड रुपैयाँ बराबरको माछा आउँथ्यो । अब त्यो रकम पनि नेपालमै रहने मन्त्रालयको विश्वास छ । चालू आवको पुस मसान्तसम्म मात्रै भारतबाट दुई लाख ६६ हजार रुपैयाँ बराबरको संख्यामा खसीबोका आयात भएको छ ।
अन्नपूर्णबाट

Logo