काठमाडौँ
गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार भन्दा बढी चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजश्व उठाएको छ । यो कारबाहीमा कम्तीमा पाँच सय जरिवाना तोकिएको छ ।
गत आर्थिक वर्ष ०७४ / ७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३ सय ५ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो तीन गुणा बढी हो ।
आव ०७३/७४ मा १० हजार ८८ चालक कारबाहीमा परेका थिए । गाडी चलाउने क्रममा मोबाइल फोनको प्रयोग दुर्घटनाको एउटा प्रमुख कारण रहेका ट्राफिक प्रहरी बताउँछन् । सबैभन्दा धेरै पूर्वी क्षेत्रका चालक कारबाहीमा परेका छन् । गतवर्ष काठमाडौं उपत्यकामा एउटै चालक कारबाहीमा नपरे पनि यो वर्ष धेरै कारबाहीमा परेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए ।
सबैभन्दा धेरै कारबाहीमा पर्नेमा मोटरसाइकल चालक छन् । गत आर्थिक वर्षमा ५ लाख ५७ हजार ८ सय ७८ मोटरसाइकल चालक कारबाहीमा परेका छन् । त्यस्तै ३ लाख ८७ हजार १६ पटक ट्रक, ट्यांकरचालक, २ लाख २४ हजार ५ सय ६४ पटक बस, मिनिबस चालक, ३ लाख २२ हजार ३० पटक कार , जिप र भ्यानका चालक, १ लाख १३ हजार ५ सय ६५ पटक ट्र्याक्टरचालक तथा ४४ हजार ७ सय ८८ पटक ट्याम्पो तथा अन्य सवारीचालक कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको तथ्याङक अनुसार ट्राफिक नियम मिचेर कारबाहीमा परेकाहरूको संख्या झन् उच्च छ ।
आर्थिक वर्ष ०७४/७५ को तथ्यांक अनुसार १६ लाख ३९ हजार ८ सय ४३ जना कारबाहीमा परेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार पटक–पटक कारबाहीमा परेका एकै चालक पनि सो तथ्यांकमा समेटिएका छन् । कारबाहीबाट १ अर्ब ३ करोड राजस्व संकलन भएको छ । सबैभन्दा धेरै उपत्यकामा ४ लाख ७३ हजार जना चालक कारबाहीमा परेका छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया