विप्लवमाथिको प्रतिबन्ध हटाउन ११ विद्यार्थी संगठनद्वारा सरकारसँग माग

विप्लवमाथिको प्रतिबन्ध हटाउन ११ विद्यार्थी संगठनद्वारा सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेवि संघ लगायत ११ विद्यार्थी संगठनले विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन् । प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले यसको समाधान राजनीतिक तवरबाट खोज्न सरकारलाई सुझाएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी सरकारको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि विद्यार्थीहरुले आग्रह गरेका छन् ।

नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले भने, ‘देश अशान्तितर्फ जान्छ, विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ, विप्लवले पनि अशान्ति मच्चाउने हैन, वार्तामा आउनुपर्छ ।’

ओली नेतृत्वको सरकारले सेना पनि आफू मातहत ल्याउन खोजेको उनको आरोप थियो । उनले भने, ‘देशमा अधिनायकवाद लाद्न खोजियो ।’ विप्लवबाट आफूलाई सुरक्षा थ्रेट भएको भन्दै केपी ओलीले सेना पनि आफैं परिचालन गर्न खोजेको उनको आरोप थियो । उनले भने, ‘यसले देशमा अशान्ति मच्चिन्छ । निरंकुशता निम्तिन्छ ।’

विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी (गोपाल किराँती ), अनेरास्ववियु पाचौं, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रवादी विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघका नेताहरू थिए ।
नागरिकबाट

Logo