प्रजातन्त्र स्थापनामा सुवर्णशम्शेरको महत्वपूर्ण भूमिका : नेता पौडेल

प्रजातन्त्र स्थापनामा सुवर्णशम्शेरको महत्वपूर्ण भूमिका : नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रजातन्त्र स्थापनामा स्व सुवर्णशम्शेर राणाको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

‘सुवर्ण स्मृति परिषद्’ले नेपाली काङ्ग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाको १०९ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार आयोजित ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र सुवर्णशम्शेर’ विषयक विचार गोष्ठीमा उहाँले सुवर्ण शम्शेरको योगदानका कारण मुलुकमा प्रजातन्त्र स्थापना सम्भव भएको बताउनुभयो । “वि.सं २००७ को क्रान्तिको मुख्य नायक नै सुवर्णशम्शेर हुनुहुन्थ्यो,” नेता पौडेलले भन्नुभयो । हातहतियार र मुक्ति सेना निर्माणमा सुवर्णशम्शेरको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

नेता पौडेलले सुवर्णशम्शेर लोकतन्त्रवादी नेता भएको उल्लेख गर्दै भन्नुभयो, “सुवर्णशम्शेरमा सहनशीलता र उदारता भएको कारण नेपालमा प्रजातन्त्र स्थापना भएको हो ।” सुवर्णशम्शेरलाई काङ्ग्रेसले जति सम्मान गर्नुपर्ने हो त्यो सम्मान गर्न नसकेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सुवर्णशम्शेर आदर्शवादी नेता भएको बताउनुभयो । “सुवर्णशम्शेरको योगदानलाई नेपाली काङ्ग्रेसले भुल्न खोज्यो,” उहाँले भन्नुभयो । नेता केसीले सुवर्णशम्शेरको योगदान र आदर्शका कारण नेपाली काङ्ग्रेस अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस नेता सागर शम्शेर राणाले भन्नुभयो, “राणा भएपनि जनताको अधिकारका लागि सुवर्णशम्शेरले खेलेको भूमिका अतुलनीय छ ।” प्रजातन्त्र सेनानी नुतन थपलियाले काङ्ग्रेसले भिन्न विचारलाई समेटेर अगाडि नबढेसम्म पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । “विश्वेश्वरप्रसाद कोइराला र सुवर्णशम्शेर राणाको योगदानलाई काङ्ग्रेसले भुले पार्टी समाप्त हुन्छ,” उहाँले भन्नुभयो ।
रासस

Logo