पोखरा । दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीका १० वर्षीय कान्छो छोरा स्वराज बाबुको निधनप्रति अनविज्ञ थिए । घरमा हजुरआमा हजुरबाबा रोएको देख्दा उनी अचम्ममा पथ्र्ये । पोखरास्थित घरमा रहेका आफन्तहरुसँग उनी बिल्कुलै फरक रुपमा प्रस्तुत हुन्थ्ये ।
ताप्जेलुङमा हेलिकोप्टर दुर्घटनामा परी उनका बाबासहित ७ जनाको मृत्यु भएको खबर उनले पनि पाईसकेका थिए । तर उनलाई त्यसमा विश्वास नै लागेको थिएन् । उनलाई यो पनि थाहा थिएन की मानिस मरेपछि कस्तो हुन्छ ? के हुन्छ ?
देश विदेशमा उनकै बाबाकै चर्चा चलिरहेका बेला स्वराज भने बाबालाई हेर्न आतुर थिए । शुक्रबार काठमाडौंबाट अन्तिम संस्कारको लागि जब रबिन्द्रको शव पोखरा लगियो । बल्ल उनले चाल पाए अब बाबा कहिल्यै आउनुहुन्न । त्यो भन्दा पहिला उनको प्रश्न थियो, ‘मेरो बाबा कहिले आउनुहुन्छ ?’
स्वराजको उक्त प्रश्नको जवाफ दिने हिम्मत कसैसँग थिएन् । र दिन पनि सकेनन् । ति १० वर्षे अवोध बालकलाई के थाहा बाबा कहिल्यै पनि नफर्किने गरेर गएका हुन् भन्ने । दिवंगत रविन्द्रका राजनीतिक सहयात्री धनराज आचार्यले उनको परिवारलाई सम्हाल्दैं आएका थिए छोरा स्वराजलाई पनि धनराजले नै सम्हालिरहेका थिए । स्वराज बेला-बेला धनराजसँग पनि यहि प्रश्न गर्छन्, ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’
बाबुलाई ताप्लेजुङबाट काठमाडौंमा अन्तिम श्रद्धाञ्जली दिँदा सम्म घरमा स्वराज बाबा कहिले आउने भनेर प्रश्न गथ्र्ये । तर शुक्रबार भने उनमा एकाएक परिवर्तन आयो । उनी आमासामू अभिभावक जस्तै बने । उनले मामुलाई सान्त्वना दिए । उनले मामुलाई आफ्नो हातले पानी खुवाए, आँशु पुछिदिए । अनुहारमा हातले स्पर्श गरे । त्यो करुणामय दृष्यले त्यहाँ वरिपरी रहेकाहरु झन स्तब्द बने ।
त्यस्तै अर्को करुणामय दृश्य त दुई भाईबीचको भेटमा पनि देखियो । जब स्वराज र उनका दाई विराजबीच भेट भयो । दुवै भाई अँगालोमा कस्सिएर धेरैबेर रोए । विराज अध्ययनको सिलसिलामा नयाँ दिल्लीमा थिए ।
दुर्घटनाको खबर सुनदेखि विक्षिप्त रहेकी विद्यालाई उनका दुई छोराले ढाडस दिए । उक्त दृश्य सबैका लागि कारुणिक बन्यो । हिजोसम्म मेरो बाबा कहिले आउनुहुन्छ भन्ने छोराले आज भने ‘मामु नरुनुहोस हामी छौं’ भन्दैं ढाडस दिए ।





























प्रतिक्रिया