भारतीय पाइलटका छोरालाई पाकिस्तानी सैनिकको भावुक पत्र

भारतीय पाइलटका छोरालाई पाकिस्तानी सैनिकको भावुक पत्र


काठमाडौं । पाकिस्तानले भारतीय वायु सेनाका विङ कमान्डर अभिनन्दन वर्धमानलाई रिहा गर्दैछ । पाकिस्तानमाथि आक्रमण गर्न गएका बेला पाकिस्तानले नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार वर्धमानलाई शान्तिको लागि भन्दै भारतको जिम्मा लगाउने घोषणा गरेका थिए । ईमरानको उक्त घोषणासँगै भारतमा खुशीयाली छाएको थियो ।

यसै सन्दर्भमा अहिले पाकिस्तानी सैनिकको नाममा सार्वजनिक भएको एउटा खुलापत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पत्र लेख्ने सैनिकको नाम उल्लेख गरिएको छैन्, तर पाकिस्तानी सेनाको आधिकारिक ट्वीटरमा यसलाई सेयर गरिएको छ । अभिनन्दनका छोरालाई सम्बोधन गरेर लेखिएको पत्र यस्तो छः

प्रिय सानो बाबु

बधाई छ, तिमी चाँडै आफ्नो बुवालाई अंगाल्न गइरहेका छौ । हामी तिम्रो बुवालाई एउटा उपहारको रुपमा फिर्ता पठाइरहेका छौं । चाहे उनी तिमी जस्ता थुप्रैमाथि बम खसाल्न आएका किन नहुन् । बाबु सुन । मेरो तिमीलाई एउटा अनुरोध छ । जब उनले तिमीलाई हतारिँदै आफ्नो कसिलो अंगालोमा बाँध्छन्, उनलाई बिनम्रताका साथ मेरो तर्फबाट केही प्रश्नहरु सोध्नु ।

उनलाई सोध्नु, बुवा ! के मजस्ता काश्मिरी बच्चाहरुलाई खुशीसँग उनीहरुको बुवासित बस्ने अधिकार छैन ? उनलाई सोध्नु, यदि उनीहरुले तपाईंलाई अराजक भीडको बीचमै छोडिदिएको भए के हुन्थ्यो ? उनलाई सोध्नु, युद्ध र घृणाको मूल्य के हुन्छ ? उनलाई सोध्नु, के शक्तिशाली छ घृणा कि माया ? उनलाई सोध्नु, जीवन सुन्दर छ वा मृत्यु ? म तिम्रो उत्तरको प्रतिक्षामा हुनेछु ।

खुशीसाथ रहनु सानो बाबु, एक दिन तिमी आफ्नो बाबुसहित हामीसित भेट्न आउने कामना गर्छु । तर, त्यतिबेला तिम्रो बाबुको हातमा मिसाइल र बम होइन फूल हुनेछ । अन्त्यमा, म तिमीलाई वचन दिन्छु कि कसैले पनि तिम्रो अनुहारको मुस्कान खोस्न सक्ने छैन र हाम्रो विध्वंसका लागि हाम्रो भूमि प्रयोग हुन दिने छैन । आफ्नो बाबुसँग खुशीसाथ रहनु ।

मानवताको प्रेमी

३४ वर्षीय अभिनन्दन वर्धमान भारतको चेन्नई शहरका हुन् । उनी सन् २००४ मा भारतीय सेनामा भर्ति भएका हुन् । उनका पिता पनि भारतीय वायूसेनामा थिए । अभिनन्दनका छोरा १० वर्षका छन् ।

Logo