काठमाडौं । रवीन्द्र अधिकारी र रवीन्द्र मिश्र हितैसी मित्र हुन् । उनीहरु बेला बेला एउटै ठाउँमा भेला भएर देशको बारेमा छलफल गथ्र्ये । राजनीति विचार फरक भएपनि उनीहरु हितैसी मित्रका हिसावले बेला बेला सँगै बसेर छलफल गर्ने गथ्र्ये ।
पर्यटन क्षेत्रको विकास गरेमात्रै देशको विकास हुने भन्ने सोचका साथ अघि बढिरहेका पर्यटनमन्त्री अधिकारीको सपना अधुरै रह्यो । उनलाई विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यसरी सम्झिएका छन्ः
पूर्व माओवादीका प्रखर वक्ता तथा युवा नेता हेमराज भण्डारी (तस्बिरमा देब्रे) जसले लगभग ३० वर्षकै उमेरमा धनकुटामा पुराना पार्टीका पुराना नेतालाई चुनावमा हराएका थिए। त्यति बेला तपाईँ, गगनजी, हेमराजजी र म सामुहिकरूपमा कहिलेकाहीँ भेट्थ्यौँ । यो देश हाम्रै पुस्तामा कसरी रूपान्तरण गर्न सकिएला भन्ने हाम्रो छलफलको मूल विषय हुन्थ्यो।
हामी सबै एकै पुस्तामा यो देश बदल्न सकिन्छ भन्नेमा सहमत थियौँ। तर हामी एक ठाउँमा आउन सकेनौँ। आ-आफ्नै बाटोमा हिँड्यौँ। तपाईँको र मेरो त पछि पनि धेरै पटक भेटघाट भयो, देशकै बारेमा विमर्श गर्न। प्रारब्धले तपाईँलाई चाँडै लिएर गयो।
तपाईँले छोडी जानुभएको पार्टी या अन्य कुनै पार्टीले एकै पुस्तामा यो देश रूपान्तरण गर्यो भने त्यो तपाईँका लागि सबैभन्दा ठुलो श्रद्धाञ्जली हुनेछ।
मृत्यु कहिले, कुन बेला, कसरी, कसलाई, कहाँ लिन आउँछ – कसलाई के थाहा। गएपछि सबै खरानी। अमरत्वको पनि जानेलाई कुनै अर्थ हुँदैन। बाँच्नेहरूले त्यसमा अर्थ खोज्ने मात्रै हो।
हामीले बाँचुञ्जेल इमानदारीपूर्वक मानव हुनाको कर्तव्य निर्वाह गर्यौं भने त्यसबाट बितेर गएका तपाईंलगायत सातै जनाको आत्माले चीर शान्ति पाउने छ।
मृत्युपश्चातको जीवन रहेछ भने कुनै दिन भेट हुनसक्छ। देश बनेको समाचार लिएर आउन पायौँ भने फेरि एकपल्ट तपाईँको सरल हाँसोसँगै खुसी बाँडौँला।
तपाईँको हितैषी
रवीन्द्र मिश्र





























प्रतिक्रिया