आज भएको एयर डाइनेस्टिकको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।
पीएन क्याम्पसदेखि पर्यटनमन्त्रीसम्म
बाल्यकाल
२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊंबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्थ्यो जसका कारण पनि उंहालाई शिक्षाका लागि राम्रो बाताबरण थियो । सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनु भयो ।
बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शकको बिचमा ‘आमा’ गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीबनमै प्रदर्शन गर्नु भएको थियो । त्यस समयमा उहाँले बिद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गर्नु भएको थियो ।
बिद्यार्थी राजनीति र उच्च शिक्षा
प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नु भयो । बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित हुनु भयो । २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।
त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ प्रकाशित गर्नु भएको छ । बिगत दुई दशकदेखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ । एशियाली बिद्यार्थी संगठन (ASA), बिश्व प्रजातान्त्रिक युबा संघ लगाएत अन्तराष्ट्रीय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रीय सम्मलेनमा भाग लिनु भएको छ ।
बिद्यार्थी आन्दोलन र जेल
पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता,प्रजातन्त्र,प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशता लाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यबस्था संग नै जोडिएका हुन्थे । आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक-पटक गरी छ महीना जेल र हिरासतमा बिताउनु भयो ।
०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो ।त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । ०४६को परिबर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भयो । कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठूलो सुधार र परिबर्तन भयो ।
त्रिबिका स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्नु हुन्थ्यो । अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरीलाई बरिष्ट प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भब भएको थियो ।
शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पांच लाख २३ ह़जार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम लेखिएको छ ।
नेकपा एमाले-पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४० मा इलाका पार्टी कमिटीमा,२०४६/४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भयो । २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुन: सचिबमा निर्वाचित हुनु भयो । ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक-पटक गरी पांच महिना जेल बस्नु भयो । पार्टीको राष्ट्रीय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरी सक्नु भएका अधिकारी हाल पार्टीको राष्ट्रीय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल बिभाग र संसदीय बिभागको सदस्य हुनुहुन्छ ।
संसद /संबिधान सभा
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान, बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट (MRP) आदि बिषयमा बिभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाबपछि संसदको बिकास समितिमा सभापति रहनु भयो । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभयो । भने २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभयो ।
बिदेश भ्रमण
बिद्यार्थी नेता,पार्टी नेता र संबिधानसभा/संसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गरिसक्नु भएको छ ।
राजनीति र बिकास
राजनीति र बिकास एक अर्काका अन्तर-सम्बंधित हुन भन्ने ठान्ने अधिकारी संबिधानसभा/संसदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्नु भयो । पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई,पोखरा फराकिलो बनाउने,पुलहरू निर्माण गर्ने ,पोखरा बिश्वबिद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न बिद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु,खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको छ । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डू पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो । बिकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक बिकासको दृष्टिकोण दिदै आउनु भएका अधिकारी एक जना बिकासप्रेमी राजनेता हुन्हुन्छ । पछिल्लो समय व्यवस्थिका संसदको विकास समितिको सभापति भएपछि उहाँलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उहाँ लागी पर्नु भएको छ । र, उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगायतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्छ ।
प्रकाशित पुस्तकहरु
१) संविधानसभा: लोकतन्त्र र पुनर्संरचना
२) समृद्द नेपाल
३) राजनीति एवं विकाससम्बन्धी लेख तथा रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित





























प्रतिक्रिया