डलर सञ्‍चिति घट्दा अत्यास

डलर सञ्‍चिति घट्दा अत्यास

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
साउनयता विदेशी मुद्रा सञ्चिति ७ प्रतिशतले घटेर ९ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित छ । नेपाल राष्ट्र बैंकका अनुसार यो सञ्चितिले ७ दशमलव ८ महिनाको वस्तु र सेवाको मात्र आयात धान्न सक्छ ।

विदेशी मुद्रा आम्दानीको मजबुत स्रोत नहुने मुलुकले ८ महिनाको आयात धान्न सक्ने भन्दा सञ्चिति कम भएपछि सजगता अपनाउँछन् । ६ महिनाको आयात धान्न पर्याप्त नहुने देखिए नीतिगत हस्तक्षेप आवश्यक पर्ने अर्थशास्त्रीको मत छ ।

आर्थिक वर्ष सुरु हुँदा १० अर्ब ८ करोड अमेरिकी डलर बराबर विदेशी विनिमय सञ्चिति थियो । कमजोर निर्यात, विदेशी सहयोगको शोधभर्ना सुस्त हुनु र प्रत्यक्ष वैदेशिक लगानी बढ्न नसकेपछि एक मात्र आशाभरोसा रेमिट्यान्स आयलाई मानिँदै आएको थियो । पर्यटकको संख्या अनुसार पर्यटन क्षेत्रको आय बढ्न सकेको छैन भने अध्ययन, उपचार, पर्यटन (भ्रमण) र वैदेशिक रोजगारीमा बिदेसिने नेपालीले गर्ने खर्च बढ्न थालेपछि सरकारले पाँचौं महिनादेखि नै विदेशी मुद्राको उपलब्धतामा नियन्त्रण गर्न थालेको हो । चालु वर्षको पहिलो ६ महिनामा नेपालीले विदेश यात्रामा झन्डै ४८ अर्ब रुपैयाँ खर्चेका छन् जबकि नेपालले पर्यटकबाट सोही शीर्षकमा ३६ अर्ब ५० करोड रुपैयाँ कमाएको छ ।

सरकारले नीतिगत हस्तक्षेप मार्फत सवारीसाधन खरिदमा बैंकले सवारी मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण दिन सक्ने व्यवस्था गरेको छ । केही समय अघि बैंकरसँगको भेटमा अर्थमन्त्रीले निजी प्रयोजनका महँगा सवारी खरिदमा कर्जा प्रवाह नियन्त्रण गर्न सुझाएका थिए ।

त्यस्तै विदेश जाने नेपालीलाई २ हजार ५ सय अमेरिकी डलरसम्म नगद सटही सुविधा दिइएकोमा घटाएर १ हजार ५ सय अमेरिकी डलरमा झारिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाएकोमा २ सय अमेरिकी डलरमा सीमित गरिएको छ । भारतमा कार्ड मार्फत हुने भुक्तानीमा पनि महिनामा एक लाख भारतीय रुपैयाँसम्मको भुक्तानी पाइन्छ ।
अन्नपूर्णबाट

Logo