काठमाडौं
नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५५४ सीमास्तम्भ मध्ये २ हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ । हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरूको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ ।
कुल सीमास्तम्भ मध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेका छन् । १ हजार ५५६ वटा सीमास्तम्भ पूर्णक्षतिग्रस्त अवस्थामा रहेका छन् । २ हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ । ६९६ वटा निर्माण हुन बाँकी छ भने ११२ निर्माणाधीन अवस्थामा छन् ।
नापी विभागका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले क्षतिग्रस्त र भत्किएका सीमास्तम्भको निर्माण कार्य भइरहेको जनाए । ‘नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले विभिन्न जिल्लामा सीमास्तम्भ निर्माण गर्नेगरी कार्य गरिरहेको छ,’ प्रमुख नापी अधिकृत सापकोटाले भने, ‘अधिकांश सीमास्तम्भ नदीनाला र खोलाले बगाएर हराएको देखिन्छ ।’
वर्षायाममा खोलामा पानीको वहाब बढ्दा सीमास्तम्भ भत्किएर जाने र निर्माण भने तत्काल हुने नगरेको पाइएको छ । नदीनाला क्षेत्रमा करिब ३ हजार सीमास्तम्भ छन् । ‘साना खोलाहरूमा १ हजार ५ सय र ठूला खोलामा पनि १ हजार ५ सयको हाराहारीमा स्तम्भ रहेका छन्,’ सापकोटाले भने, ‘नदीनाला र खोलामा रहेका सीमास्तम्भहरूको अध्ययन÷अनुसन्धान गर्नसमेत समस्या देखिएको छ । हामीसँग अत्याधुनिक प्रविधि पनि छैन ।’
प्रमुख नापी अधिकृत सापकोटाले नदीनालाबाट नोक्सानी नहुने गरी सीमास्तम्भ निर्माण गर्न सकेको खण्डमा मात्र हराउनबाट रोकिने बताए ।
जम्मा सिमा स्तम्भ –८५५४
हराएका – २३४४
पूर्ण क्षति – १५५६
सामान्य क्षति -२८८९
निर्माण हुन बाँकी -६९६
राम्रा – ४५७
निर्माणाधीन -११२
स्थगित -५००
राजधानीबाट





























प्रतिक्रिया