नगदे बाली वर्षौंको उधारो : उखु किसानका पीडा

नगदे बाली वर्षौंको उधारो : उखु किसानका पीडा

केन्द्रबिन्दु
0
Shares

सर्लाही
०७३ सालमा खेती गरेको उखुको २०७५ साल बित्न लाग्दासमेत सरकारी अनुदान बापतकै भुक्तानी नपाएपछि किसान सडकमा उत्रिएका छन् । सोमबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवनमा सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाका किसानले उखुको लाँक्रे जुलुस प्रदर्शन गरेका हुन् । उखु किसान सम्बद्ध विभिन्न संगठनको आह्वानमा मंगलबारदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम घोषणा भइसकेको छ ।

हरिवनबाट सुरु भएको जुलुस एक किलोमिटर पूर्व इन्दुशंकर चिनी उद्योग अगाडि पुगेर विरोधसभामा परिणत भएको थियो । सभामा किसान नेताहरूले रहरले नभई बाध्यताले सडकमा उत्रनु परेको बताए ।

कतिपय चिनी उद्योगबाट वर्षौंदेखि उखुको भुक्तानी नपाएर छटपटाएका किसानलाई सरकारले सहज रूपमा अनुदान रकम उपलब्ध नगराएपछि संघर्षमा उत्रन बाध्य हुनुपरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । उद्योग मालिकबाट वर्षौंदेखि पैसा नपाएर छटपटिइरहेका किसानलाई सरकारले समेत अनुदान भुक्तानीमा अनेक झन्झट राखेर थप पीडा दिएको अध्यक्ष मैनालीको आरोप छ ।

‘किसानलाई भुक्तानी नदिने उद्योगपतिलाई कारबाही गर्छु भनेर चेतावनी दिने सरकार आफैंले सहज रूपमा अनुदान उपलब्ध गराउन नसक्नुले हामी आश्चर्यचकित भएका छौं’, मैनालीले भने, ‘उद्योगपतिको शोषणमा पर्दै आएका किसानप्रति सरकारसमेत अनुदार भएको छ ।’ आधुनिक प्रणालीबाट उखु खेतीमा क्रमशः वृद्धि गर्दै मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउनुपर्नेमा चिनी उद्योगपतिको शोषण अनि सरकारको उदासीन र अनुदार व्यवहारले किसानहरू उखुखेतीबाटै विस्थापित हुने अवस्थामा पुगेको मैनालीको धारणा छ ।
नागरिकबाट

Logo