नेकपाको कार्यदल निष्क्रिय सदस्यहरू नै असन्तुष्ट

नेकपाको कार्यदल निष्क्रिय सदस्यहरू नै असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एकताको बाँकी कामको खाका तयार गर्ने म्यान्डेट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदल निष्क्रिय भएपछि सदस्यहरू नै असन्तुष्ट बनेका छन् ।

पुस मसान्तसम्म एकताको खाका तयार पार्ने कार्यादेश विपरीत केही नेता अन्यत्र सक्रिय भएपछि सदस्यहरूले संयोजक रामबहादुर थापा ‘बादल’लाई बैठक बोलाउन दबाब दिने निष्कर्ष निकालेका छन् ।

एक–दुई दिनभित्र बैठक नबोलाइए संयोजक बादललाई भेटेर बैठक बोलाउन दबाब दिने सहमति भएको कार्यदलका एक सदस्यले बताए । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले बैठक बोलाउन रुचि नराखेकाले सदस्यहरू अन्योलमा छन् ।

‘सुरु–सुरुमा त सबै व्यस्त भएकाले पनि बैठक नबोलाइएको हो, तर अब नबोलाउनु पर्ने कुनै कारण छैन, हामीलाई केही भनिएको पनि छैन,’ कार्यदलका एक सदस्यले भने, ‘अब एक–दुई दिनभित्र बोलाइएन भने संयोजकलाई भेटेरै कारण माग्ने, बैठक बोलाउन आग्रह गर्ने सल्लाह गरिरहेका छौँ ।’

कार्यदलको जिम्मेवारीमा रहेका नौ नेता मध्ये मुख्यमन्त्री शंकर पोखरेल सरकार सञ्चालनको काममा प्रदेश ५ मै व्यस्त छन् । अन्य दुई सदस्य वर्षमान पुन र योगेश भट्टराई पार्टी कार्यक्रमको सिलसिलामा रोल्पामा छन् । संयोजक बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सरकारी काममा व्यस्त छन् । महासचिव विष्णु पौडेल, लेखराज भट्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे काठमाडौंमै रहे पनि केही सदस्य बाहिर रहेकाले तत्कालै बैठक बस्ने स्थिति छैन ।
नयाँ पत्रिकाबाट

Logo