तेस्रो लिङ्गी शब्दप्रति सांसदहरूको आपत्ति

तेस्रो लिङ्गी शब्दप्रति सांसदहरूको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नागरिकतामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरूबीच मतभेद भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

धेरैजसो तेस्रो लिङ्गी भन्दा उनीहरूको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरूले त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने अन्य लेख्दा पनि लैङ्गिक पहिचान स्पष्ट नहुने भन्दै यसबारे गम्भीर छलफल गरेर निर्णय गर्नुपर्ने बताए ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले उनीहरूको पनि सम्मान हुने गरी उपयुक्त शब्द खोज्नुपर्ने बताए । यसअघि सरोकारवालासँग भएको छलफलमा तेस्रो लिङ्गीहरूले ‘तेस्रो लिङ्गी ’ भन्ने शब्द नराख्न सुझाव दिएका थिए । नेपालको संविधानको धारा १२ मा ‘वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता’ को व्यवस्था छ । यसमा भनिएको छ– ‘यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुबाको नामबाट लैङ्गिक पहिचानसहितको नेपालको नागरिकता प्रमाणपत्र पाउन सक्नेछ ।’
नेपाल समाचारपत्रबाट

Logo