काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औँ महाधिवेशन सोमवार काठमाडौँमा सम्पन्न भएको छ ।
महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा र कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन् ।
महाधिवेशनको बन्द सत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भयो । महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरीयतालाई सुनिश्चित गर्न गन्तव्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परीक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यविधिलाई पूर्ण रूपमा पालना गर्ने निर्णय गरेको छ ।
बन्द सत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि विशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।
महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताए ।
‘श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार छ,’ उनले भने,‘सरकारबाट सूचीकृत भएका स्वास्थ्य संस्थाहरू (सम्बन्धित देश मार्फत छनोट भएका तथा नभएका) लाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरी सबै देशको लागि एकरूपता बनाउन सरकारले एकद्वार प्रणाली बनाइनेछ ।’
नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । ‘महासंघको सदस्य बन्नुभएको सवै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको विदितै छ । समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुदै आएको हो,’ उनले भने,‘कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट छैन । हामी हाम्रो व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी राख्दैनौँ ।’
अध्यक्ष खड्काले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँकतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । ‘अहिले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क रोजगारदाताबाटै पहिलो महिनाको तलबमा सोधभर्ना भइरहेको छ । मलेसिया र नेपालको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्दा मेडिकल फेल भएर फर्किने संख्या लगभग छैन । कहिलेकाहीँ मात्रै देखिन्छ ।’ उनले भने,‘यो अभ्यासलाई अझै सतप्रतिशत बनाउनेछौँ । दुई देशबीचको सम्झौतालाई प्रभावकारी बनाउने भुमिका खेल्नेछौँ ।’
महाधिवेशनमा श्रम क्षेत्रमा निरन्तर रिपोटिङ गर्ने सेतोपाटी अनलाइनकी संवाददाता निर्मला घिमिरे, रातोपाटी अनलाइनका संवाददाता कृष्णजंग धामी र मध्यान्ह दैनिकका संवाददाता रेशमराज पौडेललाई ५०–५० हजार रुपैयाँ नगद दिई सम्मान गरिएको थियो । त्यस्तै गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गरेको भन्दै सनराइज डाइनोष्टिकका सञ्चालक बेलबहादुर श्रेष्ठ र चेतना स्वास्थ्य केन्द्रका सञ्चालक चन्द्रमा राईलाई प्रंशसा पत्र हस्तान्तरण गरिएको थियो ।





























प्रतिक्रिया