काठमाडौँ
सरकारले अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा औचित्य पुष्टि हुन नसकेको स्रोतमा साढे ५३ अर्ब रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयबाट भएको वार्षिक आन्तरिक लेखापरीक्षण अनुसार सो आवमा ५३ अर्ब ५८ करोड ८ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
सो आवमा सरकारले चालू, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ कुल १० खर्ब ८४ अर्ब ६८ करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । आन्तरिक लेखापरीक्षणमा कुल बजेट खर्चको ४.९४ प्रतिशत बेरुजु देखिएको छ । नियम अनुसार खर्चको पुष्टि हुन नसके, खर्चको कागजात पेस गर्न नसके, पेस्की फर्स्योट हुन नसकेको रकमलाई बेरुजु मानिन्छ । महालेखा नियन्त्रक कार्यालय मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिएको आन्तरिक लेखापरीक्षणबाट उक्त रकमबराबरको बेरुजु देखाएको कार्यालयले उल्लेख गरेको छ ।
कार्यालयको आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन अनुसार बेरुजु रकम अघिल्लो आव ०७३/७४ को तुलनामा १० अर्ब ९ करोड रुपैयाँले बढेको छ । उक्त आवमा आन्तरिक लेखापरीक्षणबाट ४३ अर्ब ४७ करोड बेरुजु देखिएको थियो । सोही वर्षको प्रतिवेदनमा देखिएका बेरुजुका प्रकृति यस वर्ष पनि दोहोरिएको प्रतिवेदनको निष्कर्ष छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया