आजदेखि प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

आजदेखि प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।

कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबार देखि यो नयाँ व्यवस्था सुरु भएको बताउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ ।

प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्क्षय रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको एक घण्टा निर्धारण गर्न सक्ने छ ।’

संसद्को बैठक सुरु भएको अबको ४६ दिनपछि १ वर्ष पुग्नेछ तर अहिलेसम्म यो अभ्यास सुरु भएको थिएन । संसद् बैठक बसेको केही पछिमात्र यो नियमावली बनाइएको हो । संसद्को पहिलो बैठक २०७४ फागुन २१ गते बसेको थियो । यसअघि पौष ३० गते सोमबार संसद्को बैठक बसेको थियो । माघको पहिलो बैठक आज १२ बजे बस्न लागेको हो ।

बैठक सुरु हुनुभन्दा १ घण्टा अघि नै प्रश्न टिपाउनुपर्ने छ । सभामुखको अनुमति लिई सांसद्ले आफ्नै ठाउँबाट प्रश्न गर्नुपर्नेछ । एक दिनमा १० जना सांसदले मात्र प्रश्न सोध्न पाउने छन् । प्रधानमन्त्रीको सट्टा अरु कुनै मन्त्रीले जवाफ दिन पनि मिल्ने व्यवस्था छ ।
नेपाल समाचारपत्रबाट

Logo