२५ जना प्राध्यापक बर्खास्त, २० लाई नसियत : त्रिभुवन विश्वविद्यालय

२५ जना प्राध्यापक बर्खास्त, २० लाई नसियत : त्रिभुवन विश्वविद्यालय


काठमाडौँ

त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ जना प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो ।

लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन् । प्राध्यापन क्षेत्रमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई हेल्मेट प्राध्यापकको रूपमा चिनिन्छ ।

पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो । जस अन्तर्गत २५ शिक्षक र १५ कर्मचारीहरू रहेका छन् । बर्खास्त हुनेमा शिक्षक अन्तर्गत उपप्राध्यापक, सहप्राध्याक र प्राध्यापक छन् । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्ने उल्लेख छ । सो प्रावधान अनुसार उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो ।

यस्तै, पूर्वस्वीकृत नलिई काम गरेका २० जना शिक्षकलाई नसियत गराइएको छ । उनीहरूलाई नसियतस्वरूप लिखित रूपमै सचेत गराइएको त्रिविले बताएको छ । त्रिभुवन विश्वविद्यालयबाहेक अन्य निकायमा पूर्वस्वीकृतिबिना अन्य ठाउँमा गर्न नमिल्ने प्रावधान छ ।
राजधानीबाट

Logo