सुत्केरीले पाएनन् यातायात खर्च

सुत्केरीले पाएनन् यातायात खर्च

केन्द्रबिन्दु
0
Shares

आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाएनन ।

नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुनेका लकान्द्रीलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पछि सम्पर्क गरेर उक्त रकम दिने बताए ।

लकान्द्रीजस्तै पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको दुई महीना बित्यो । प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले विगत दुई महीनादेखि यातायात खर्चबापतको रकम पाउन सकेका छैनन् ।

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार ४०० यातायात खर्च प्रदान गर्ने गर्दथ्यो । चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत सरकारले उक्त यातायात खर्च दोब्बर पारिएको घोषणा ग¥यो । सोहीअनुसार स्वास्थ्य संस्थामा परिपत्रसमेत जारी ग¥यो तर, घोषित नीतिअनुसार बजेट निकासा नहुँदा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने महिलाले गत मङ्सिरदेखि यातायात खर्चबापतको रकम प्राप्त गर्न नसकेको पाँचथर जिल्ला अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेण्ट डा वुद्धिबहादुर थापाले जानकारी दिए ।

माथिल्ला निकायको परिपत्रअनुसार अस्पतालले गत साउनदेखि अस्पतालमा सुत्केरी गराउन आँउने महिलालाई रु दुई हजार ८०० यातायात खर्च वितरण गर्न थालेको थियो पछि निकासा हुने विश्वासमा अस्पताल विकास समितिको बजेटबाट समेत सुत्केरीलाई यातायात खर्च वितरण गरिएको थियो । अस्पतालले चालू आवको साउन, भदौ, असोज र कात्तिक महीनामा सुत्केरी गराएबापत महिलालाई रु दुई हजार ८०० का दरले रकम वितरण गरेको थापाले बताए । प्रदेशबाट विनियोजित बजेट सकिएपछि मङ्सिरदेखि सुत्केरी आमालाई यातायात खर्च प्रदान गर्न नसकिएको थापाको भनाइ छ ।

पाँचथर जिल्ला अस्पताल विगतदेखि नै प्रसूति र महिला स्वास्थ्य सेवाका लागि चर्चित छ । विगतमा डा पवनजङ्ग रायमाझी, डा पवनकुमार शाहलगायत चिकित्सकले सेवा दिएको अस्पतालमा अहिले महिला तथा प्रसूतिसम्बन्धी विशेषज्ञ डा वुद्धिबहादुर थापाले सेवा दिइरहेका छन् । यहाँ मासिक ९० देखि १०० जना महिला सुत्केरी गराउन आउने गरेको डा थापाले बताए । जसमध्ये १५ देखि २० को अस्पतालमै शल्यक्रिया हुने गरेको छ ।

Logo