काठमाडौँ
सरकारले विज्ञापन प्रकाशन तथा प्रसारण कार्यलाई नियमन गर्न लागेको छ । त्यसका लागि विज्ञापन बोर्ड गठन गर्ने सहितको कानुन संसदमा लैजाँदै छ ।
विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने, विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असर र अपनाउनु पर्ने सचेतनासमेत उल्लेख गर्नुपर्ने लगायतको व्यवस्थासहित सरकारले कानुन बनाउन लागेको हो ।
मन्त्रिपरिषद्बाट पारित भई संघीय संसद् पुग्न लागेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा शक्तिशाली विज्ञापन बोर्ड गठन गर्ने र हालसम्म सञ्चालित विज्ञापन एजेन्सीलाई बोर्डमातहत ल्याउने लगायत विषय समेटिएको छ । केही दिनभित्र संसदमा यो विधेयक दर्ता गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।
सरकारले तयार गरेको विधेयक अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।
विज्ञापन बोर्डले निर्धारण गरेको मापदण्डका आधारमा कुनै धार्मिक, सांस्कृतिक वापुरातात्विक स्थल, शैक्षिक वा स्वास्थ्य संस्था वा त्यस्तो स्थल वा संस्थाबाट देखिने निश्चित दूरीभित्र विज्ञापन निषेधित क्षेत्र स्थानीय तहले तोक्न सक्नेछ । त्यस्तै रेडियो, टेलिभिजन तथा पत्रपत्रिका लगायत आमसञ्चार माध्यमले कुनै खास विषयको विज्ञापन निकै अघि वा निकै पछिसम्म बजाउन नपाउने व्यवस्था विधेयकमा गरिएको छ । विज्ञापन बोर्डले त्यस्तो विज्ञापन प्रसारण वा प्रकाशन गर्ने समय तोक्न सक्ने र तोकिएको समयभन्दा बाहिर विज्ञापन गरे कारबाही हुने व्यवस्था गरिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया