सांसदको लोगो लगाएर रेशम चौधरी जेलतिर

सांसदको लोगो लगाएर रेशम चौधरी जेलतिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएर रेशम चौधरी जेलतिर लागेका छन् । उनलाई डिल्लीबजार कारागारबाट लिएर आएको प्रहरी टोलीले शपथ सकिए लगत्तै सिंहदरबारबाट पुनः कारागार लगेको हो ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीविरुद्धको मुद्दा विचाराधीन रहेकै बेला चुनाव जितेको एक वर्षपछि उनले शपथ लिएका हुन् । अब सांसदकै हैसियतमा उनी जेल बस्नेछन् ।

आफ्नै मातृभाषा (थारुभाषा) मा पद तथा गोपनीयताको शपथ लिँदै उनले टीकापुर घटनामा आफ्नो संलग्नता नभएको बताए । जनताले म निर्दोष हुँ भन्ने कुरा जनमत दिएर पुष्टि गरेका छन् । अब अलदालतले पनि मलाई न्याय दिनुपर्छ, उनले भने, उक्त घटनामा मेरो कुनै संलग्नता छैन। उनलाई संसदले सांसदको ब्याच (लोगो) दिएको छ । त्यही लोगो लगाएर उनी प्रहरी गाडीमा बसेर डिल्लीबजार फर्किए ।

रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ । निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने, शपथपछि चौधरी निलम्बित सांसदको रूपमा जेलमै रहन्छन् । संसद बैठकमा बस्न पाउँदैनन् ।
अन्नपूर्णबाट

Logo