अर्थ मन्त्रालय: ९ लाखको कार्यालय सामान, ४ लाखको गाडी मर्मत

अर्थ मन्त्रालय: ९ लाखको कार्यालय सामान, ४ लाखको गाडी मर्मत

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

अर्थ मन्त्रालयले गत मंसिर महिनामा कार्यालय खर्चवापत ३६ लाख ४४ हजार ८ सय १२ रुपैँया भुक्तानी गरेको छ । यो रकम भुक्तानीका लागि प्राप्त बिलका आधारमा उल्लेख गरिएको हो । यसमा मंसिर ६ गतेभन्दा अगाडि भएका खर्चहरु र प्राप्त हुन बाँकी बिलहरुको खर्च विवरण भने समावेश गरिएको छैन ।

मन्त्रालयले फर्निचर, कार्यालय सामान, गाडी मर्मत, कम्प्युटर खरिद, मेशिनरी खरिद, शौचालय मर्मत, विजुली मर्मत लगायतका शिर्षकमा रकम भुक्तान गरेको हो । मन्त्रालयले मंसिर महिनामा कार्यालय सामान खरिदका लागि सबैभन्दा बढी खर्च गरेको देखिन्छ ।

कुन शिर्षकमा कति ?

विजुली मर्मत सामान खरिद

मन्त्रालयले विजुली मर्मत सामान खरिदका लागि भन्दै ५ लाख ३६ हजार ४ सय ७४ रुपैंया भुक्तानी दिएको छ । जस अन्तर्गत मंसिर १६ र १७ गते गरी पालभी ईन्टरप्राइजेजलाई मात्रै ३ लाख ५६ हजार ५ सय १५ रुपैंया भुक्तानी दिएको छ । त्यसैगरी १७ गते नै अधिकारी लाइट हाउसलाई ८९ हजार ९ सय ५९ रुपैंया र २४ गते ओम नेटवर्क प्रालिलाई ९० हजार ४ सय रुपैंया भुक्तानी गरेको छ ।

फर्निचर खरिद

मन्त्रालयले एक लाख ९४ हजार ६ सय ४७ रुपैंयाको फर्निचर सामाग्री खरिद गरेको छ । मन्त्रालयले एउटै विक्रेताबाट विभिन्न मितिमा सामान खरिद गरेको देखिन्छ । यसवापत सगरमाथा फर्निचर एण्ड फर्निसिङ सेन्टरलाई मंसिर १४, १८ र २५ गते गरी भुक्तानी दिइएको छ । मन्त्रालयले पुष ६ गते पनि फर्निचर खरिदवापतको रकम भुक्तान गरेको छ । मनकामना जनरल सप्लार्यसलाई ६१ हजार ४ सय ६६ रुपैंया भुक्तानी दिइएको हो ।

कार्यालय सामान खरिद

मन्त्रालयले मंसिर महिनामा कार्यालय सामान खरिदका लागि सबैभन्दा बढी भुक्तानी दिएको देखिएको छ । यस अन्तर्गत मन्त्रालयले ९ लाख २२ हजार ७ सय एक रुपैया भुक्तानी दिएको छ । जस अनुसार प्रशान्त इन्टरप्राइजेजलाई मंसिर १३ र २८ गते गरी ४ लाख ७४ हजार ८ सय २६ रुपैंया भुक्तानी दिइएको छ । त्यसैगरी एडी इन्टरप्राइजेजलाई मंसिर १३ गते ४२ हजार एक सय ४९ रुपैंया र केदार भूमिराज ट्रेडिङलाई ४ लाख ५ हजार ७ सय २६ रुपैंया भुक्तानी दिइएको छ । त्यसैगरी मन्त्रालयले मस्र्याङ्डी इन्टरप्राइजेजलाई कार्तिक २७ गते ४ लाख ६८ हजार ९ सय ५० रुपैंया भुक्तान गरेको छ ।

गाडी मर्मत

मन्त्रालयले मंसिर महिनामा मात्रै ४ लाख २२ हजार ९ सय ५२ रुपैंयाको सवारीसाधन मर्मत गरेको छ । यसवापत मन्त्रालयले मंसिर ११ गते विजय मोटर्स प्रालिलाई ३८ हजार २ सय ५१ रुपैंया भुक्तानी दिएको छ । त्यसकै भोलिपल्ट पुजा इन्टरनेशनललाई २ लाख ११ हजार ४ सय ७३ रुपैंया भुक्तानी दिइएको छ । त्यसैगरी मंसिर १९ गते एकैदिन एउटै कम्पनीलाई दुई वटा बिल भुक्तानी दिइएको छ । शिवशक्ति ट्रेडर्सलाई ७९ हजार २ सय ६९ रुवैंया र ९३ हजार ९ सय ५९ रुपैंया गरी कुल एक लाख ७३ हजार २ सय २८ रुपैंया भुक्तान गरेको हो ।

कम्प्युटर खरिद

मंसिरमा मन्त्रालयले ५ लाख ८३ हजार ८० रुपैंयाको डेस्कटप कम्प्युटर खरिद गरेको जनाएको छ । यसवापत मंसिर १६ र १७ गते गरी न्यू डिजिटल ईन्टरप्राइजेजलाई मंसिर १६ गते २ लाख ४४ हजार ८० रुपैंया र १७ गते ३ लाख ३९ हजार रुपैंया भुक्तानी दिईएको छ ।

एसी खरिद

मन्त्रालयले एउटा नयाँ एसी खरिद गरेको छ । मन्त्रालयले क्रियटिभ ट्रेड कन्सर्नबाट २ लाख ९३ हजार ८ सय रुपैंया पर्ने एसी खरिद गरेको हो ।

अन्य

त्यसैगरी मन्त्रालयले शौचालय मर्मतका लागि ४६ हजार ३ सय १८ रुपैंया खर्च गरेको छ । त्यस्तै सरकारले हालै घोषणा गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधिको कभर छपाईका लागि ४ लाख ५७ हजार ६ सय ५० रुपैंया भुक्तानी दिएको छ । यसवापत मन्त्रालयले मल्ल ठकुरी प्रिन्टिङ प्रेसलाई रकम भुक्तान गरेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले मंसिर १२ गते मिनमार्ट इन्टरप्राइजेजलाई मशिनरी खरिद वापत एक लाख ८४ हजार एक ९० रुपैंया भुक्तानी दिएको छ ।

Logo