काठमाडौँ
सन् २०१८ आजबाट विदा हुँदैछ । भोली देखि अंग्रजी नयाँवर्ष शुरु । यसवर्ष भरिमा नेपालले केहि विशिष्ट व्यक्तिलाई गुमाएको छ । पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमाए ।
कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्वप्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बन्नुभएका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष हुनुभयो । पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वी पी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।
मङ्सिरमा पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । उहाँ २०६४ सालमा प्रधान न्यायाधीश बन्नुभएको थियो । उहाँ संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधानन्यायाधीश हुनुहुन्थ्यो ।
सन् २०१८ मा नेपाली काँग्रेसका दुई नेतालाई मुलुकले गुमाए । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभएको थियो ।
मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली काँग्रेसका अर्का नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको चैतमा निधन भयो । पञ्चायती शासनको अवसान र प्रजातन्त्र स्थापनामा उहाँको महत्वपूर्ण योगदान छ ।
कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान छ ।
यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री हुनुभएका देवकोटा लामो समय बेलायत उपचार गरे पनि स्वास्थ्य अवस्था सुध्रिएन ।
एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर नेपाल फर्कने क्रममा उहाँको निधन भएको थियो ।
नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । माघमा बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । ब्राजाकीको सातवटा कथासङ्ग्रह र गजल सङ्ग्रहहरू प्रकाशित छन् ।
व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा असोजमा निधन हुन पुग्यो । उहाँ कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक हुनुहुन्थ्यो ।
साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट साउनमा निधन भयो । विसं २०५७ सालमा दाहालको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा जेठमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लड्नुभएका थापाले झण्डै एक सयवटा चलचित्र र टेली चलचित्रमा अभिनय गर्नुभएको थियो ।
रासस





























प्रतिक्रिया