काठमाडौँ
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाइ र जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको जलवायु सम्मेलनको सोमबार ( आज ) राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै छिन् ।
सम्मेलनमा भाग लिन विज्ञटोलीसहित सबै जिल्लाका प्रमुख, उपप्रमुख लगायत सहभागी मेलम्ची आइपुगेका छन् । सम्मेलन स्थल गुफाडाँडा चिटिक्क सिँगारिएको छ । यहाँ जलवायु परिवर्तनको असर झल्कने मानव ‘स्ट्याचु’ बनाइएको छ । मान्छेले पृथ्वी उचालेको मूर्ति हिमालतिर फर्केको छ । आयोजकका अनुसार मूर्तिको सन्देश हुन्छ, ‘मान्छेले नै मिलेर पृथ्वी बचाउने हो । अन्यथा पृथ्वीले नै मान्छेलाई थिच्छ ।’
मूर्तिको राष्ट्रपतिले अनावरण गर्ने छिन् । मूर्तिसँगै ७७ वटा राष्ट्रिय झण्डा फहराएको छ । यी झण्डा ७७ जिल्लाका प्रमुखले एकसाथ झण्डोतोलन गरेर सम्मेलन सुभारम्भ गर्नेछन् । हरेक झण्डामा नेपाली वर्णानुक्रममा जिल्लाको नाम लेखिएको छ । ‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलन मार्फत दबाव दिन्छौँ,’ सम्मेलन मूल आयोजक समितिका संयोजक रहेका तामाङले भने । उनले सम्मेलनको सबै तयारी पूरा भएको बताए ।
सोमबार बिहान गुफाडाँडा आएर जनप्रतिनिधिहरु जलवायु परिवर्तन सम्वन्धी विषयमा छफलफलमा जुट्ने छन् । त्यहाँ विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । २२ जनाभन्दा बढीको विज्ञ समूहले कार्यपत्र र छलफलउपर प्राविधिक सहजीकरण गर्नेछन् ।
सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरमा आउँदै छिन् । उद्घाटन र छोटो औपचारिक कार्यक्रमपछि सहभागि छलफलमै व्यस्त हुनेछन् । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, वातावरण मन्त्रालयका उच्च अधिकारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीसमेत सम्मेलनमा सहभागि हुनेछन् ।





























प्रतिक्रिया