उपेन्द्र, गच्छदार र महतोलाई भन्दा सिके राउतलाई खोज्ने धेरै !

उपेन्द्र, गच्छदार र महतोलाई भन्दा सिके राउतलाई खोज्ने धेरै !

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

मधेस केन्द्रित राजनीति गरिरहेका नेताहरुमध्ये सर्वाधिक ‘हाइलाइटेड’ नेताहरु हुन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, राजपा अध्यक्ष मण्डलका तत्कालिन संयोजक महन्थ ठाकुर, हृदयस त्रिपाठी, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरतसिंह भण्डारी ।

उपप्रधानमन्त्री यादव संघीय समाजवादी फोरमका अध्यक्ष हुन् भने महतो तत्कालिन सद्भावना पार्टी आनन्ददेवीका अध्यक्ष हुन् । त्यस्तै गच्छदार तत्कालिन मधेसी जनअधिकार फोरमका अध्यक्ष हुन् भने ठाकुर तत्कालिन तराई मधेस लोकतान्धिक पार्टीका अध्यक्ष हुन् । त्यसैगरी झा तत्कालिन नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् भने महेन्द्र यादव तराई मधेस सद्भावना पार्टीका अध्यक्ष हुन् । राजकिशोर यादव मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष हुन् भने तत्कालिन राष्ट्रिय मधेसी समाजवादी पार्टीका अध्यक्ष हुन् शरतसिंह भण्डारी ।
मधेसमा यी नेताहरुको पहँुच त गएको निर्वाचनले छर्लङ्ग बनाई सकेको छ । यी बाहेक पनि मधेस केन्द्रित राजनीति गरिरहेका स्वतन्त्र मधेस अभियन्ता हुन् सिके राउत । मधेसलाई छुट्टै राज्यको रुपमा घोषणा गर्नुपर्ने भन्दै अभियान चलाईरहेका उनीप्रतिको चासो भने निकै धेरै रहेको तथ्यांकले देखाउँछ ।

बिश्वकै सबैभन्दा बढी प्रयोग हुने सर्च ईन्जिन गुगलको तथ्यांक अध्ययन गर्दा अन्य मधेसी नेताहरु भन्दा राउतलाई खोज्नेहरु अधिक भेटिन्छन् । नेपाली कांग्रेसका उपसभापति गच्छदारलाई २ जनाले खोज्दा राउतलाई २० जनाले खोजेका छन् । नेपालबाट खोजी गर्नेको सूचिमा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र कांग्रेसका महामन्त्री विमलेन्द्र निधिलाई ४ जनाले खोज्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई ८ जनाले खोज्ने गरेका छन् ।

गत बर्षको डिसेम्वर २३ देखि चालु बर्षको डिसेम्वर २२ सम्मको तथ्यांक हेर्दा अधिकांश महिनामा सिके राउतलाई खोज्नेको संख्या अधिक देखिन्छ । बिशेषगरी सेप्टेम्वर १६ देखि २२ सम्म अधिक मात्रामा उनको खोजी भएको देखिन्छ । उनलाई पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा पनि खोजिएका छन् । पूर्वाञ्चलमा राउतलाई ७० प्रतिशतले खोज्दा उपप्रधानमन्त्री यादवसहित निधि, महतो र झालाई खोज्नेको संख्या शून्य छ । गच्छदारलाई भने ३० प्रतिशतले खोज्ने गरेको तथ्यांक छ ।

त्यसैगरी पश्चिमाञ्चलमा राउतलाई ६२ प्रतिशतले खोज्दा गच्छदारलाई ५ प्रतिशतले, उपप्रधानमन्त्री यादवलाई १९ प्रतिशतले, महतोलाई १४ प्रतिशतले खोजेका छन् । यो क्षेत्रमा अनिल झा र विमलेन्द्र निधिलाई खोज्नेको प्रतिशत शून्य छ । त्यस्तै मध्यमाञ्चल क्षेत्रमा पनि ५५ प्रतिशतले राउतलाई खोज्दा अन्य नेताहरुलाई खोज्नेको संख्या सिमित छ । यो क्षेत्रमा उपप्रधानमन्त्री यादवलाई १७ प्रतिशत, गच्छदारलाई ४ प्रतिशत, निधि र महतोलाई समान १२ प्रतिशतले खोजेका छन् ।

नेपालदेखि अमेरिकासम्म राउतकै राज

बिश्वभरबाट खोज्नेहरुको सूचि हेर्दा राउतको एकल राज देखिन्छ । युके, अष्ट्रेलिया, मलेसिया, युएई देशबाट राउतको मात्रै शत प्रतिशत खोजी भएका छन् । यी देशहरुबाट खोजिने अन्य मधेसी नेताहरुको प्रतिशत शुन्य छ । त्यस्तै कतार, अमेरिका र नेपालबाट खोजिनेमा पनि उनकै जमात बाक्लो छ । उनलाई कतारबाट ८२ प्रतिशतले, अमेरिकाबाट ४२ प्रतिशतले खोजी गरेका छन् । भारतबाट भने उनलाई थोरै मात्रामा खोज्ने गरेको तथ्यांकले देखाउछ । भारतबाट उपप्रधानमन्त्री यादवलाई ५० प्रतिशतले खोज्दा राउतलाई ५ प्रतिशतले मात्रै खोजेका छन् । त्यस्तै भारतबाट झालाई ३२ प्रतिशतले, गच्छदारलाई ९ प्रतिशत र महतोलाई ४ प्रतिशतले खोज्ने गरेको तथ्यांकमा उल्लेख छ ।

समग्रमा विदेशबाट खोज्नेहरुको तथ्यांक अनुसार भने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई खोज्नेको जमात बाक्लो छ । यो तथ्यांक अनुसार ३५ प्रतिशतले यादवलाई खोज्दा २६ प्रतिशतले राउतलाई खोजेका छन् । त्यसपछि अनिल कुमार झालाई २२ प्रतिशतले, विजय गच्छदारलाई १३ प्रतिशतले, राजेन्द्र महतोलाई जम्मा ८ प्रतिशत र विमलेन्द्र निधिलाई ५ प्रतिशतले खोजेका छन् ।

 

को हुन् सिके राउत ?

सप्तरीको हदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत थिए । उनले अमेरिकामा मधेसी हकहितका लागि भन्दै गैर आवासीय मधेसी संघ गठन गरेका थिए ।

पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा इलेक्टिोनिक्स ईन्जिनियरिङमा स्नातक गरेका उनी मोनबुशो छात्रवृतिमा जापान पढ्न गएका थिए । सन् २००४ ताका गेरु वस्त्रसहित घरबाट निस्केका उनी भारतको कलकत्ता, मद्रास, मधुराई, बैंगलोर, कन्याकुमारी हुँदै प्रशान्ति निलमसम्म पुगको थिए ।

उनले आफ्नो आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ भन्ने पुस्तक लेखेका छन् । पुस्तकमा उनले आफुले पहिचानको ब्रह्मज्ञान भेटेको लेखेका छन् । ऋतिक रोशन काण्ड र इराकमा नेपालीहरुको हत्या काण्डमा राजधानी काठमाडौमा ठूलो दंगा उत्पन्न भयो । राउतले यी दुबै घटनालाई मधेसीमाथि दमनका रुपमा लिएका छन् ।

सन् २००६ को अगस्तमा शुरु भएको मधेस आन्दोलनका क्रममा उनी लगायतले मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन गठन गरी आन्दोलन चर्काएका थिए । त्यसबखत उनले मधेसको झण्डादेखि राष्ट्रगान समेत तयार पारेका थिए । कम्प्युटर ईञ्जिनियर समेत रहेका उनले विवश्वान कुमार, आजाद, ईंजोड लगायतका नामबाट लेख रचना लेख्ने गर्दथे ।

सन् २००९ मा उनी अमेरिका गएर बीबीएन कम्पनीमा वैज्ञानिकका रुपमा काम गरे । पछि फेरि नेपाल फर्केर उनले मेचीकाली अभियान चलाए । त्यसैक्रममा उनले नेपाललाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि चौतर्फी विरोध समेत भएको थियो । उनले मधेस स्वराज नामक पुस्तकमा नेपालबाट मधेस अलग बनाउनुपर्ने लेखेका छन् ।

गुगलमा गुमनाम नेता

मधेस केन्द्रित राजनीति गर्ने कतिपय नेताहरुको नाम गुगलमा गुमनाम देखिन्छ । गुगलको तथ्यांक हेर्दा महन्थ ठाकुर, हृदयस त्रिपाठी, महेन्द्र राय यादव, राजकिशोर यादव र शरतसिंह भण्डारीलाई गुगलले तथ्यांकमा समेटेको छैन ।

Logo