२२ तले धरहराको पुर्ननिर्माण सुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

२२ तले धरहराको पुर्ननिर्माण सुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् ।

सो क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

नयाँ बन्ने २२ तले धरहरा आधुनिक र सुविधा सम्पन्न हुनेछ । धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ ।

धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगै‌ंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’ मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।

धरहरा बाहिरबाट हेर्दा पुरानै जस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ । बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिनेछ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुनेछ ।

धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउनेछ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुनेछ ।

पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्राधिकरणले धरहरा निर्माणको जिम्मा जीआईईटीसी (रमन जेभी) लाई दिएको छ ।

Logo