पोखरा । क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका २ भारतीय नागरिक पक्राउ परेका छन् । मानव बनाउने भन्दै क्रिश्चियन धर्म परिवर्तन गराउन खोज्ने एक महिला र एक पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भदौं १ गतेदेखि लागू भएको नयाँ संहिताले धर्म परिवर्तन गराउनेलाई कडा कारवाहीको व्यवस्था गरेको छ । धर्म परिवर्तन गराउनेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तनसम्बन्धी कसुरमा ५ वर्ष जेल हुने व्यवस्था गरेको हो ।
अपराध संहिताको दफा १५८ मा कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने व्यवस्था गरिएको छ ।
‘कसैले कुनै जातजाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन,’ उपदफा २ मा लेखिएको छ ।





























प्रतिक्रिया