पूर्वराजालाई प्रधानमन्त्रीको यस्तो सांकेतिक चेतावनी

पूर्वराजालाई प्रधानमन्त्रीको यस्तो सांकेतिक चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे । ‘अहिले कोही कोही देश दौडाहा, तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन । हामी उपलब्धि गुम्न दिँदैनौं ।’

उनले विगतमा पनि लोकतन्त्र सिध्याउने षडयन्त्र हुँदा त्यसलाई असफल पारेर आएको बताउँदै अब पनि सफल नहुने ठोकुवा गरे । लोकतान्त्रिक व्यवस्थामा कुल घरानाका मान्छेहरु छटपटाएको भन्दै ओलीले नेपाली जनताले कुल घरानाको शासक होइन सेवक खोजेको बताए ।

‘अहिले कतिपय मान्छेलाई खान्दान र कुल घरानाको चिन्ता छ’, नेपाल इन्जिनियर्स एशोसियशनका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनताको निम्ति काम गरौं । कुल घराना वा नघरानाबाट जो पनि आउन सक्छ ।’ यद्यपी कुल घरानामा सबै गलत नहुने उनको भनाई छ ।

अहिले राजतन्त्रात्मक होइन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था देशमा रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै क्षेत्रलाई पनि संकुचन नगरेको दाबी गरे । ‘यो सबै अफवाह हो । यो सरकार मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रताको पक्षधर हो, कुनै संकुचन हुँदैन ।’
नागरिकबाट

Logo