जग्गाधनीलाई थाहै नदिई अर्कैका नाममा जग्गा पास !

जग्गाधनीलाई थाहै नदिई अर्कैका नाममा जग्गा पास !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारी कर्मचारीबाटै सर्वसाधारणको सम्पत्ति असुरक्षित हुन थालेको छ । आपराधिक गिरोहसँग मिलेर कर्मचारीले धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् । यस्ता दुई समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले समेत यस्ता घटनाहरूको अनुसन्धान गरिरहेको छ ।

झापाकी टेकमाया माओहाङको दमक– २ स्थित २ बिघा चार धुर जग्गा उनलाई नै थाहा नदिई बिक्री गरेको घटनामा मालपोतका ८ कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मालपोत कार्यालय डिल्लीबजार र झापाका कर्मचारी मिलेर टेकमायाको जग्गा बिक्री गरिदिएको खुलेको छ । ६ वर्षअघि नै डिल्लीबजार मालपोत कार्यालयबाट बेजिल्ला पासको निर्णय गराएर नक्कली धनी खडा गरी जग्गा बिक्री भएको हो । एक व्यक्तिले कर्मचारीलाई आर्थिक प्रभावमा पारी जग्गा बिक्री गरिदिएको पुष्टि भएको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख पर्शुराम अधिकारीसहितका कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गिरोहका मुख्य नाइके भने फरार छन् । झापा मालपोतका अधिकृत अग्नि घिमिरे तथा नायब सुब्बाद्वय डिल्ली कोइराला र जयन्द्रा राईलगायत अख्तियारको हिरासतमै छन् ।

जग्गामा संरचना निर्माण हुन थालेपछि मात्रै आफ्नो जग्गा अरूकै नाममा पुगिसकेको टेकमायाले थाहा पाएकी थिइन् । मालपोत कर्मचारीबाटै आफ्नो जग्गा बिक्री भएको उनी बताउँछिन् ।

आपराधिक गिरोह र कर्मचारीले बढी बदमासी जग्गामा गर्ने गरेको देखिएको छ । प्रहरी अधिकारीहरूका अनुसार मालपोतका कर्मचारी बिचौलियाबाट प्रभावित हुने भएकाले जग्गामा बढी समस्या देखिएको हो । मालपोतमा सरकारी कागजपत्रमा बिचौलियाहरूले सहजै पहुँच पाउने गरेका छन् । सहजताको फाइदा उठाउँदै उनीहरूले जग्गाधनीको फोटो नै परिवर्तन गरिदिने र त्यसमा नक्कली कागजपत्र मिसाइदिने प्रवृत्ति देखिएको छ । कतिपय अवस्थामा बदमासी थाहा थाहा पाउँदापाउँदै पनि कर्मचारीले जग्गा बिक्री गरिदिएका छन् । निरन्तर यस्ता घटना दोहोरिन थालेपछि राज्यबाटै आफ्नो सम्पत्ति असुरक्षित हुन थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन् ।
नयाँ पत्रिकाबाट

Logo