मेलम्ची
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा बुधबार आयोजनाका कर्मचारीले धर्ना दिएका छन् ।
तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।
सीएमसीद्वारा किस्ताबन्दीमा भुक्तानी लिन अस्वीकार
यता मेलम्चीको इटालियन ठेकेदार सीएमसीलाई फकाउने सरकारको लगातार तीन दिनको प्रयास बुधबार पनि असफल भएको छ ।
खानेपानी मन्त्रालयमा ठेकेदार र मन्त्रालयका पदाधिकारीबीच बुधबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । मन्त्रालय स्रोतका अनुसार सरकारले ठेकेदारलाई तिर्नुपर्ने ३६ करोड रुपैयाँ किस्ताबन्दीमा दिने प्रस्ताव गरेको थियो।
सीएमसीले आफूलाई नगद प्रवाहमा समस्या परेको भन्दै एकैपटक तिर्नुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्ता बिहीबार (आज) पनि हुनेछ ।
ठेकेदारले गरेको दाबी रकम एक अर्ब ६१ करोडमध्ये दुवै पक्षका प्रतिनिधि सम्मिलित विवाद निरुपण बोर्ड (डीआरबी) ले सरकारले ३६ करोड रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो ।
उक्त निर्णयअनुसार ठेकेदारले रकम पाउन खानेपानी मन्त्रालय र मेलम्ची आयोजनालाई ताकेता गर्दै आएको थियो । तर खानेपानी सचिव गजेन्द्र ठाकुर र आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले विभिन्न्न बहानावाजी गर्दै भुक्तानी नदिएपछि ठेकेदारले आफ्ना सबै कर्मचारी र कामदारलाई सिन्धुपाल्चोकस्थित मेलम्ची साइटबाट काठमाडौं उतारेको थियो ।
रासस





























प्रतिक्रिया