काठमाडौँ
बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठ लगायत चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरूले ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर एक रुपैयाँ पनि कर तिरेका थिएनन् । ‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘छानबिनमा तानिएमा आफूहरू जोगिने उद्देश्य उनीहरूको देखिन्छ ।’
ठगीमा सरकारी कर्मचारीहरूको पनि मिलेमतो रहेको आशंका प्रहरीले गरेको छ । त्यसैले पक्राउ गरिएका व्यक्ति, दर्ता गरिएको कम्पनी र नागरिकताधनीको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । ‘यसमा ठूलै गिरोहको संलग्नता छ जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न सिआईबीका एक् अधिकारीले बताए ।
आन्तरिक राजस्व कार्यालयले कम्पनीधनीलाई कर तिर्न भन्दै पत्राचार गरेपछि घटना बाहिर आएको हो । खोल्दै नखोलेको कम्पनीको कर तिर्न पत्र आएपछि नागरिकताधनी अचम्मित भएका थिए । पछि बुझ्दा उनकै नागरिकताका आधारका कम्पनी स्थापना भएको पत्ता लाग्यो । आफूले कम्पनी नै नखोलेको बताएपछि छानबिन हुँदा उनको हराएको नागरिकताका आधारमा कम्पनी दर्ता गरिएको खुलेको हो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया