नेपालमा उत्पादित कफीको गुणस्तर निर्धारण

नेपालमा उत्पादित कफीको गुणस्तर निर्धारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले अर्गानिक कफीसहित पाँच वस्तुको नेपाल गुणस्तर (एनएस) मापदण्ड स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले ती वस्तुको गुणस्तर मापदण्ड स्वीकृत गरेका हुन् ।

मन्त्री यादवको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को ९९ औं बैठकले ती वस्तुको नेपाल गुणस्तर मापदण्ड स्वीकृत गरेको हो । मन्त्रालयले कफीको गुणस्तर मापदण्ड स्वीकृत गर्नुका साथै मोटरसाइकलको हेल्मेट, पोली प्रोपोलिन, हट डिप ग्याल्भनाइजिङ अफ आइरन एन्ड स्टिल र स्टिल तथा स्टिलजन्य वस्तुको नेपाल गुणस्तर स्वीकृत गरेको छ ।

हालसम्म नेपालमा उत्पादित अरेबिका जातको कफीको उत्पादन, प्याकेजिङ र भण्डारण सम्बन्धी गुणस्तर मापदण्ड थिएन । गुणस्तर सम्बन्धी मापदण्ड नभएकाले कफीको निर्यातमा कठिनाइ भइरहेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । व्यापार तथा निजी क्षेत्र विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गुणस्तर मापदण्ड तयार पारिएको हो ।

आयोजनाका प्रमुख सल्लाहकार डा. बद्री बस्ताकोटीका अनुसार मापदण्ड आएपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्गानिक कफी निर्यातमा सहज हुनेछ । ‘यस अघिसम्म नेपाली कफी गुणस्तरीय छ भन्दा पनि नपत्याउने कतिपय क्रेता मुलुकले यो मापदण्ड अनुसार उत्पादन भएको जानकारी पाएपछि सजिलै खरिद गर्न सक्छन्’, बस्ताकोटीले भने, ‘नेपाली उत्पादकले यो मापदण्ड अनुसार उत्पादन गरेका कफीका लागि एनएस प्रमाण चिह्न पनि प्याकेजिङमा उल्लेख गर्न पाउनेछन् ।’

हाल गुल्मीसँगै पाल्पा, स्याङ्गजा, अर्घाखाँची, लम्जुङ, तनहुँ, कास्की, ललितपुर, मकवानपुर, काभ्रे, नुवाकोट, इलाम, पाँचथर, प्युठान लगायत ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुन्छ । नेपालमा मुख्य गरी अरेबिया जातको कफी उत्पादन हुन्छ । नेपालको अर्गानिक कफी दक्षिण कोरिया, जर्मनी, जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडा लगायत मुलुकमा अर्गानिक ग्रिन बिन निर्यात हुन्छ । बाँकी स्वदेशी बजारमा खपत हुन्छ ।

नेपालमा वार्षिक करिब ३० करोड मूल्य बराबरको वार्षिक चार सय ३४ देखि चार सय ७० मेट्रिक टन कफी उत्पादन हुन्छ । यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ ।
अन्नपूर्णबाट

Logo