काठमाडौँ
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश लिने दिन नजिकिँदै गर्दा संवैधानिक परिषद्ले भने भावी प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन ।
न्यायपरिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपक जोशी र न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पठाएको दुई साता बितिसक्दा पनि संवैधानिक परिषद्ले भने छलफलसमेत गर्न सकेको छैन । प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताको कार्यव्यस्तता देखाउँदै लगातार पाँचपटकसम्म बैठक स्थगित भएको छ । छैटौँ बैठक बिहीबार बिहान ९ बजेका लागि डाकिएको छ ।
११ मंसिरमा न्यायपरिषद्ले जोशी र राणाको नाम संवैधानिक परिषदमा पठाएको थियो । जोशी यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्बाटै अस्वीकृत भएका हुन् । तर वरिष्ठताका आधारमा न्यायपरिषद्ले राणाभन्दा जोशीको नाम अगाडि राखेर सिफारिस गरेको छ । सर्वोच्चमा न्यायाधीशका रूपमा तीन वर्ष सेवा गरेर प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश यी दुई मात्र हुन् ।
संवैधानिक परिषद्ले कुनै पनि पदमा नियुक्तिका लागि सिफारिस गर्दा सर्वसम्मत नभए बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्था छ । विपक्षी दलको नेता लगातार ३ बैठकमा उपस्थित नभए बहुमतका आधारमा निर्णय गर्ने व्यवस्था छ । तर बिहीबारको बैठकमा विपक्षी दलका नेताले उपस्थित हुने जानकारी गराएका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया