७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ ।
यसै अवसर पारेर सोमबार बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापण गरिएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन । उनीहरुले महिला हत्या, हिंसालगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्णप्रत्याभूति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उनले मानव अधिकार हननकर्तामाथि कडा कार्वाही गर्न पनि सरकारलाई पुनः सचेत गराए ।
राष्ट्रिय मानव अधिकार आयोगले सशष्त्र द्वन्द्वकालका घटनामा पीडितलाई न्याय दिन सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ । त्यसैगरी मानव अधिकारकर्मी सिताराम लामाले दण्डहिनताको अन्त्य गर्न सरकारसँग माग गर्नु भयो । उहाँले मानव अधिकारको प्रत्याभूति गराउने प्रतिवद्धताको पूर्ण पालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
महिला अधिकारकर्मी सुशीला श्रेष्ठले महिला हिंसा, हत्यालगायतका घटना तत्काल अन्त्य गर्न सरकारसँग आग्रह गर्नु भयो । उहाँले महिला हत्या, हिंसामा संलग्नलाई पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई दवाव दिए ।
प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरुले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएका छन । उनीहरुले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन पनि आह्वान गरेका छन ।































प्रतिक्रिया