एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । "/>

एडिबीद्वारा ३९ अर्ब ३२ करोड सहयोग, कुन कुनमा हुन्छ खर्च ?

एडिबीद्वारा ३९ अर्ब ३२ करोड सहयोग, कुन कुनमा हुन्छ खर्च ?

केन्द्रबिन्दु
0
Shares

एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । 

बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । त्यसैगरी बैंकले एक करोड ५० लाख अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान रकम प्रकोप सहनशील विद्यालय निर्माण परियोजनामा खर्च हुनेछ । 

विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे । सासेक राजमार्ग सुधार परियोजनाअन्तर्गत पूर्व पश्चिम राजमार्गको पूर्वमा रहेको कमला कञ्चनपुर खण्डको करीब ८७ किलोमिटर सडक सुधार गरी फराकिलो बनाउने, सडक सुरक्षामा सुधार गर्ने र सडक क्षेत्रमा काम गर्ने निकायको क्षमता अभिवृद्धि गरिनेछ । 

सासेक परियोजनाबाट सडक सञ्जालको सुरक्षामा सुधार, राष्ट्रिय र क्षेत्रीय सडक सञ्जालमा सबलीकरण तथा यातायात प्रणालीको दक्षता अभिवृद्धि भई निर्यातमूलक नेपाली उद्योग अन्तर्राष्ट्रिय एवं क्षेत्रीय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भई देशको आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाअन्तर्गत भूकम्पबाट असुरक्षित बनेका विद्यालयलाई सुदृढ एवं सुरक्षित तुल्याइने छ । नेपालको पूर्वाधारलगायत आर्थिक/सामाजिक क्षेत्रको विकासका निम्ति बैंकले विगतदेखि गरिरहेको सहयोगको निरन्तरता हो । 

त्यस अवसरमा सचिव खनालले ऋण तथा अनुदान सहायताका माध्यमबाट नेपालको सामाजिक–आर्थिक विकासमा बैंकले सघाएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्दै परियोजना कार्यान्वयन गर्ने निकायलाई निर्धारित समयभित्रै काम पूरा गर्न इमान्दार भएर लाग्न अनुरोध गरे । देशीय निर्देशक खामुदखानोभले नेपालको आर्थिक विकासमा सासेक परियोजनाबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्दै त्यसले राष्ट्रिय एवं क्षेत्रीय सम्पर्क विस्तारमा टेवा पुग्ने बताए ।

Skip This
Skip This
Logo