काठमाडौं
स्मार्ट कार्ड ( सवारीचालक अनुमतिपत्र ) मंगलबार देखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिन देखि नै निजी कम्पनीले दैनिक २० हजार भन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।
मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरी देखि पछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए । ‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरी देखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिन भित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनु पर्नेछ ।’
विभाग आफैंले पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसको प्राविधिक सहयोगमा विभागले कार्ड छपाइ गर्दै आएको थियो । विभागले गरिरहेको प्रिन्टिङ पनि चालू नै रहने प्रवक्ता उपाध्यायले बताए । ‘सन् २०१७ को नोभेम्बर र डिसेम्बरको केही कार्ड छपाइ गर्न बाँकी छ, केही कार्डमा त्रुटि देखिएका छन्,’ उनले भने, ‘त्यो छपाइको काम विभाग आफैंले गर्ने छ ।’ जनवरीदेखि अक्टोबरसम्मको कार्डको छपाइ मात्रै मालिकाले गर्ने छ । त्यसपछि पुनः विभागले नै कार्ड छपाइ गर्ने उपाध्यायले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया