काठमाडौँ

नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । "/>

नाम र स्थायी राजधानी नटुंग्याई सकियो प्रदेश नं. १ को वर्षे अधिवेशन

नाम र स्थायी राजधानी नटुंग्याई सकियो प्रदेश नं. १ को वर्षे अधिवेशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । प्रदेश सभाको पहिलो अधिवेशन गत १७ जेठमा सुरु भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार प्रदेश सभाको ५८ औँ बैठकमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै सभामुख भण्डारीले भने, ‘चालू वर्षे अधिवेशन आज राति १२ बजे बाट विधिवत् अन्त्य भएको घोषणा गर्दछु ।’

यो अधिवेशनमा जम्मा ५८ पटक बैठक बसेको सभामुख भण्डारीले जानकारी दिए । यो अवधिमा ६० घन्टा १५ मिनेट बैठक बसेको थियो । वर्षे अधिवेशनकै क्रममा गत २६ जेठमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए ।

प्रदेश सभाले गत २७ जेठमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । त्यस्तै १ असारमा प्रदेश सभाले बजेट प्रस्तुत गरेको थियो । प्रदेश सभाले पहिलो र दोस्रो अधिवेशनमा गरी हालसम्म २३ वटा कानुन बनाएको छ ।

वर्षे अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषय जटिल भएको बताए । पटकपटक प्रयास गरे पनि टुंगो लगाउन नसकेकाले आगामी हिउँदे अधिवेशनको प्रारम्भमै प्रस्ताव प्रवेश गराएर सहमतिमै टुंगो लगाउने बताए । उनले भने, ‘संविधानसभाले ५६ वर्ष ८ महिनामा पनि नसकेको कुरो प्रदेश सरकार र सभाले यति सहजै टुंगो लगाउने विषय यो होइन, तैपनि आगामी अधिवेशनको सुरुमै छलफल चलाएर टुंगो लगाउनेछौं ।’

मुख्यमन्त्रीले रोस्ट्रमबाटै पत्रकारलाई गरे गाली

मुख्यमन्त्री शेरधन राईले पत्रकारहरूलाई स्तरहीन र सपनामा देखेका कुरा लेख्ने गरेको आरोप लगाए । प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा रोस्ट्रममा उभिएका मुख्यमन्त्री राईले पत्रकार बस्ने ग्यालरीतर्फ फर्किएर भने, ‘तपाईंहरू कल्पना गरेर, सपना देखेर लेख्न छाड्नोस्, आफनो संकल्प र प्रतिबद्धतालाई ख्याल गर्नुहोस्, सक्नुहुन्छ स्तरीय चरित्र प्रदर्शन गर्नुहोस्, सक्नुहुन्न भने कम्तीमा स्तरहीन चरित्र प्रदर्शन नगरिदिनोस् ।’
नयाँ पत्रिकाबाट

Logo