धादिङ
दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकी देखि धादिङको नौबिसे–धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो । अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६ किलोमिटरको यो सडक खण्ड छिचोल्न अहिले ८ देखि १२ घन्टा सम्म लाग्न थालेको छ । बिहान साढे पाँच बजे गाडी चढेकी थापा दिउँसो ३ बजे बल्ल धार्के आइपुगिन् । ‘चाडपर्व नजिकियो। आफन्त र साथीभाइसँग खुसी बाँड्न घर हिँडेका थियौं,’ धार्केमा बुधबार भेटिएकी उनले भनिन्, ‘ट्राफिक जामले बेलैमा गन्तव्यमा पुग्न मुस्किल देखियो ।’
एक साता देखि यात्रुले यो सडक खण्डमा ट्राफिक जामको सास्ती खेप्नुपरेको छ । खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा अहिले सवारीसाधन बन्द गरेर मर्मतको काम थालिएको छ । मर्मतका लागि भन्दै यो सडकखण्डमा राति ८ बजे देखि बिहान ५ बजेसम्म गाडी बन्द गरिएको छ । राति गाडी चलाउन रोक लगाएर सडक मर्मत थालेपछि जाम बढ्दा यात्रुले झन् सास्ती खेप्नु परेको हो ।
राति रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम हुने गरेको छ । साघुँरो, उकालो ओरालो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक ट्राफिक जामले यात्रु आजित छन् । राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रु जामको मारमा परेका छन् । ‘सामान्य बेला सिम्लेबाट कलंकी पुग्न डेढदेखि दुई घन्टासम्म लाग्छ, अहिले ९÷१० घण्टासम्म लाग्छ छ,’ थापाले भनिन्, ‘चाडपर्वका बेलामा सडक मर्मत गर्ने र उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारीसाधन बाटोमै बिग्रिनाले पनि जाम हुन्छ ।’
कंलकी देखि नागढुंगा निस्कनै चार देखि छ घन्टा सम्म लाग्छ । कलंकीदेखिको ट्राफिक जाम धार्के हुँदै सिम्लेसम्म आइपुगेपछि बल्ल कम हुन्छ । चाडपर्वमा खाद्यान्न लगायत सामग्री लिएर राजधानी हिँडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिँदा पनि जाम झनै बढेको छ ।
यसैविच भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लगिँदै गरेका एक बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको छ । नौबिसे–नागढुंगा सडक खण्ड पार गर्न घन्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको हो ।
नागरिकबाट





























प्रतिक्रिया