दार्चुला ।
व्यासी सौका समुदायका लागि खुलेको नेपाल–भारत जोड्ने खलंगा झोलुगें पुलबाट सयौँले आवतजावत गरेका छन् । व्यासको सीतापुल नाका खोलेर मङ्सिर ३ गते भारतीय बाटो हुँदै धारचुला झरेका ६० परिवार तिङ्करबासीलाई खलंगा ल्याउनका लागि सोमबार बिहान ९ देखि बेलुकी ५ बजेसम्म खलंगा सीमा पुल खुलेको हो ।
व्यासवासीले स्वदेशकै बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्न दिनका लागि भारतीय प्रशासनलाई अनुरोध गरेका थिए । दुबै देशका स्थानीय प्रशासनको सहमतिमा अन्तर्राष्ट्रिय सीमा नाका खुलाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
भारतको बाटो भएर सदरमुकाम आएका सौका समुदायलाई खलंगा पुग्न छ दिन लागेको छ । व्यासकै छाङरु गाउँका एक सय पाँच परिवार मङ्सिर १९ गते सितापुल नाका भएर भारतकै बाटो हुँदै खलंगा आउने तयारीमा छन् । छाङरुबासीका लागि मङ्सिर २४ गते खलंगा सीमा पुल खुला गर्ने दुबै देशबीच सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
व्यासीहरुलाई स्वदेश भित्र्याउनका लागि खुलेको पुलमा सयौँ स्थानीयहरुले समेत भीडभाड हुने गरी आवतजावत गरेका छन् । कोरोनाको जोखिम न्यूनीकरणका लागि बन्द गरिएको पुलमा एकैपटक सयौँको भीड लाग्दा कोरोना संक्रमणको जोखिम झनै बढेको स्थानीय ईन्द्र साउँदले गुनासो गरे।
कोरोनाका कारण गत चैत १० गतेदेखि बन्द रहेका दार्चुलाका अन्तर्राष्ट्रिय सीमा नाका ३९ पटक खोल्दा छ हजार बढीले आवतजावत गरेका छन् । अत्यावश्यक कामका लागि दुबै देशको स्थानीय प्रशासनबीच समन्वय गरेर पुल खुलाउँदा स्थानीय र व्यापारीहरुले समेत सीमा पार गरेर सामाग्री खरिद गर्ने गरेका छन् । लकडाउन शुरु भएदेखि ३९ पटक खुलेको पुलमा झण्डै छ हजार मानिसले नेपाल–भारत आवतजावत गरेको जिल्ल प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले बताए।गोरखापत्रबाट





























प्रतिक्रिया