काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समितिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टी भित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन् ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बित्दा समेत तल्ला तहको कमिटी एकीकरणमा विलम्ब भइरहेका बेला नेता नेपाल सहितका नेताहरूले संस्थापन पक्षबाट पेलाइमा परेको गुनासो गरेका छन् । नेता नेपालले शुक्रबार सार्वजनिक रूपमै पार्टी एकता प्रक्रिया र प्रवृत्तिबारे मुख खोलेका हुन् ।
आफू विदेश भ्रमणबाट फर्किएपछि प्रदेश पदाधिकारीको टुंगो लगाउने पूर्वसहमति विपरीत दुई अध्यक्षसहित सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेता नेपाल असन्तुष्ट छन् । पार्टीका महत्वपूर्ण निर्णय गर्ने अधिकार पार्टी स्थायी समितिलाई भए पनि त्यसविपरीत निर्णय हुन थालेको असन्तुष्ट पक्षले गुनासो गर्दै आएको छ ।
शुक्रबार इन्द्रेणी फुडल्यान्डमा सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा अन्य स्थायी समिति सदस्यहरूको उपस्थितिमा नेता नेपालले निर्णय विधिसम्मत नभएको भन्दै असन्तुष्टिलाई लिखित रूपमै पार्टीमा लैजाने जनाएका थिए । नेता नेपाल पक्षले हाल भइरहेका पार्टीका निर्णय विधि र मापदण्डविपरीत दुई अध्यक्षको निर्णय अनुसार मात्र भइरहेको आरोप लगाउँदै आएको छ ।
नेकपामा शीर्ष नेताले आफू निकटका नेताकार्यकर्तालाई च्यापेको भन्दै गुटउपगुटमा विवाद भइरहेका बेला कतिपय गुटविहीन नेताहरूले आफ्नो योग्यता र योगदानको मूल्यांकन नभएको भन्दै गुनासो गरिरहेका छन् । यता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूले योग्यता र क्षमताकै आधारमा जिम्मेवारी दिएको दाबी गरेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया