बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्को एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ ।
राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अघि बढाउने सन्दर्भमा कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिएको भन्दै छ महीनाभन्दा बढी समय आयोजनाको काम अघि नबढाउन बाध्य तुल्याइएको तथ्य खुलासा भएको हो ।
राष्ट्रिय सरोकार तथा कार्यान्वयन समितिको शुक्रबारको बैठकमा आयोजना निर्देशक मधुकर रानाले भने, “कर्णाली नदीको पानीबाट त्यस क्षेत्रको ३८ हजार हेक्टरमा सिँचाइ पु¥याउने उद्देश्यका साथ निर्माण भइरहेको आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झनसमेत खेप्नु प¥यो ।”
उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ३६ र वित्तीय प्रगति ३४ प्रतिशत रहेको जानकारी दिइएको छ । डिभिजन वन कार्यालयले आयोजनको नहर क्षेत्रमा पर्ने रुख हटाउने अनुमति दिए पनि काटेका रुखको ठूटा र जरा हटाउन अनुमति नदिइएको जनाउँदै त्यसका लागि लामो समयसम्म दुःख दिने नियतले झुलाउने काम गरेको आयोजना प्रमुख रानाले बताउनुभयो । डिभिजन कार्यालयका प्रमुख फेरिएपछि पछिल्लो समय भने विगतको समस्या टरेको आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजना अघि बढाउने सन्दर्भमा अन्तर मन्त्रालयबीच समन्वय नहुँदा आयोजना तोकिएको समयमा अघि बढाउन नसकिएको गुनासो व्याप्त छ ।





























प्रतिक्रिया