कोल पाल्मर नायक बन्दा चेल्सीले जित्यो पहिलो फिफा क्लब विश्वकपको उपाधि, कहाँ चुक्यो पीएसजी ?

कोल पाल्मर नायक बन्दा चेल्सीले जित्यो पहिलो फिफा क्लब विश्वकपको उपाधि, कहाँ चुक्यो पीएसजी ?

केन्द्रबिन्दु
279
Shares

काठमाडौं । न्यूयोर्कको मेटलाइफ रंगशालामा आइतबार राति सम्पन्न भएको फिफा क्लब विश्वकपको फाइनलमा इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–० गोलको प्रभावशाली जित हासिल गर्दै पहिलोपटक उपाधि चुमेको छ । चेल्सीको जितमा युवा स्टार कोल पाल्मरले दुई महत्वपूर्ण गोल र एक असिस्ट प्रदान प्रदान गरेर नायक बनेका थिए । उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पनि जित्न सफल बने ।

खेलको पहिलो हाफमै चेल्सीले आफ्नो रणनीतिक र आक्रामक खेलको प्रदर्शन गर्दै पीएसजीलाई दबाबमा राख्न सफल भएको थियो । जहाँ खेलको २२औँ मिनेटमा कोल पाल्मरले पेनाल्टी क्षेत्रभित्रबाट बायाँ खुट्टाले गरेको शानदार प्रहारले गोलकिपर जियानलुजी डोन्नारुमालाई छकाउँदै चेल्सीलाई पहिलो अग्रता दिलाएको थियो । लगतै आठ मिनेटपछि अर्थात ३०औँ मिनेटमा, पाल्मरले फेरि उस्तै शैलीमा दोस्रो गोल थपे । यस्तै पहिलो हाफको ४३औँ मिनेटमा पाल्मरको थ्रु पासमा जोआओ पेड्रोले डोन्नारुमालाई चिप गर्दै तेस्रो गोल गर्दै चेल्सीको अग्रता फराकिलो बनाइ । ३–० गोलले पछि परेको पीएसजीको मनोबल पूर्ण रूपमा कमजोर बनेको थियो । चेल्सीको काउन्टर–आक्रमण र रक्षात्मक रणनीतिले पीएसजीको स्टार–जडित आक्रमणलाई ४५ मिनेटसम्म कुनै पनि अवसर नै दिएन । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले पीएसजीले पाएका केही सीमित अवसरहरूमा पनि उत्कृष्ट बचाउ गरेर चेल्सकिो जित सुनिश्चित गरेका थिए ।

यस्तै दोस्रो हाफमा पीएसजीले खेलमा फर्कने प्रयास गरे पनि चेल्सीको रक्षात्मक रणनीतिलाई भेद्नै सकेन । खेलको ८५औँ मिनेटमा मिडफिल्डर जोआओ नेभेसले चेल्सीका डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा उनलाई सिधै रातो कार्ड देखाएपछि पीएसजीको अवस्था झनै नाजुक बनेको थियो । १० खेलाडीमा सीमित भएको पीएसजीले खेलको अन्तिम मिनेटहरूमा तनावपूर्ण अवस्था सिर्जना गर्यो । पीएसजीका प्रशिक्षक लुइस एन्रिके र गोलकिपर डोन्नारुमाले जोआओ पेड्रोलाई मध्यभागमा धकेल्दा दुवै टोलीबीच केही समय तनावको अवस्था सिर्जना भएको थियो । जसलाई छुट्याउन रेफ्रीलाई समेत कठिनाइ परेको थियो । यद्यपि, दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि चेल्सीले ३–० गोलको अग्रता कायम राख्दै पहिलो उपाधि उचाल्न सफल भयो । गत सिजन फ्रान्सेली लिग, फ्रान्सेली कप, सुपर कप र युरोपेली च्याम्पियन्स लिग जितेर ऐतिहासिक सिजन बनाएको पीएसजी फिफा क्लब विश्वकपको फाइनलमा भने पूर्ण रूपमा असफल देखियो ।

गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहेको चेल्सीले युरोपेली च्याम्पियन पीएसजीलाई हराएर विश्व फुटबलमा आफ्नो दबदबा कायम गर्नु कुनै संयोग भने पक्कै थिएन । यसअघि सन् २०२१ मा पनि चेल्सीले फिफा क्लब विश्वकपको पुरानो संरचनाको क्लब विश्वकप जितिसकेको इतिहास छ । तर यो नयाँ संस्करणको क्लब विश्वकपको पहिलो विजेता बन्दै चेल्सीको क्लब इतिहासमै नयाँ इतिहास कोरेको छ । अर्कोतर्फ पीएसजीका लागि यो हार निकै निराशाजनक रह्यो । गत सिजन ट्रेबलसहित ऐतिहासिक सफलता पाएको पीएसजीको यो हारले विश्व च्याम्पियन बन्ने सपनालाई चकनाचुर बनाएको छ ।

Logo