काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (इभी)मा ग्राहकको आकर्षण बढ्दै गएको छ । पेट्रोल र डिजेलको एकाधिकारलाई तोड्दै सडकमा इभी गाडीले वर्चश्व जमाउँदै लगेका छन् । सार्वजनिक होस् या निजी, सहर होस् गाउँ इभिको उपस्थिति बाक्लिँदै गइरहेको छ । सरकारको नीति र वातावरणीय सचेतनाका कारण नेपाली बजारमा ईभीको लोकप्रियता उच्च भएको हो।
इभी गाडीप्रति नेपालीहरूको आकर्षण बढेसँगै आयातको ग्राफ समेत निरन्तर उकालो लागिरहेको छ। नेपालमा २०७६ सालपछि इभी आयात हुन थालेको देखिन्छ। यो ६ वर्षको अन्तरालमै नेपालमा करिब ८० वटा इभी ब्राण्डले उपस्थिति जनाइसकेका छन्। ६ वर्षको अवधिमा नेपालमा ३३ हजार ८६० युनिट विद्युतीय सवारी भित्रिएको छ।
कुन वर्ष कति भित्रिए ?
आर्थिक वर्ष २०७६/७७ मा कुल ५७५ विद्युतीय सवारी साधन भित्रिएका थिए। आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ४९ वटा इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिए। आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए ।
आर्थिक वर्ष २०७९/८० देखि भने नेपालमा विद्युतीय गाडीको आयात बढ्न थाल्यो । उक्त आर्थिक वर्षमा कूल ४ हजार ५० वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका थिए। आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ युनिट आयात भएका थिए। गत आर्थिक वर्ष २०८१/८२ कुल १३ हजार ५७८ थान गाडी आयात भएका छन्। इभीको बढ्दा आयातले पनि यसप्रतिको आकर्षणलाई झल्काएको छ । विशेष गरी आव ०७९/८० यता विद्युतीय गाडीको आयात उच्च देखिएको छ ।
पछिल्लो एकै वर्षमा ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको १३ हजार ५७८ थान इभि नेपाल भित्रिएका हुन् ।
बजारमा कसको वर्चश्व बढी ?
पछिल्ला केही वर्षमा नेपालमा इभीको माग उल्लेखनीय रूपमा बढेसँगै प्रतिस्पर्धा पनि बढिरहेको छ । नेपालमा चिनियाँ विद्युतीय सवारीको वर्चश्व देखिन्छ । बीवाइडी, नेटा एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्राण्डहरू नेपालमा स्थापित भइसकेका छन् । त्यसैगरी, दोस्रो नम्बरमा भारतीय ब्राण्डका इभी गाडीहरू बढी भित्रिन्छन् । भारतीयमा टाटा, हुन्डाई, महिन्द्रा, किया, पन्च इभी, टियोगा जस्ता ब्राण्डहरू रहेका छन्।
चीन र भारतको अलावा नेपाली बजारमा कोरिया, अमेरिका, फ्रान्स, जापान लगायतका विभिन्न देशबाट विद्युतीय सवारी साधन आयात हुने गरेको छ। नेपाली बजारमा यी ब्रान्डका इलेक्ट्रिक चारपांग्रे सवारी साधनको बर्चस्व छ। विस्तारै सार्वजनिक बस र माइक्रो बसहरूको आयात पनि बढिरहेको विभागको तथ्यांकले देखाउँछ। त्यस्तै, मोटरसाइकल, स्कुटर लगायतका दुई र तिन पाङ्ग्रे विद्युतीय सवारी साधनका ब्राण्ड उल्लेख्य मात्रामा रहेका छन् ।
आकासिँदो इन्धनको मूल्यका कारण पनि विद्युतीय सवारीसाधन ग्राहकको रोजाईमा पर्ने गरेको छ । विद्युतीय सवारीसाधनमा उपलब्ध हुने ब्याट्री क्षमता, वातावरणमैत्री फिचर तथा अन्य सुविधाका कारण विद्युतीय सवारीसाधनको माग उल्लेख्य मात्रामा हुने गरेको छ ।
बढ्दो जलवायु परिवर्तनका कारण अहिले विश्वभर नै स्वच्छ ऊर्जाको प्रयोग गर्न दबाब बढेको छ । ऊर्जाको राम्रो उपयोगिताको लागि सरकारले पनि विभिन्न उपायहरू अबलम्बन गरिरहेको छ । ’सन् २०४५ भित्रै नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने’ लक्ष्य लिएको छ । त्यसैले लक्ष्य हासिलका लागि विद्युतीय गाडीको आयातमा कर कम लगाइएको छ । बैंकहरूले पनि विद्युतीय सवारी साधनमा जाने कर्जालाई प्राथमिकताका साथ लगानी गरिरहेका छन्।
पेट्रोलियम गाडीको तुलनामा यसको विद्युतीय सवारी कम खर्चिलो पनि छ । त्यसले गर्दा यसमा आकर्षण थप बढेको व्यवसायीहरू बताउँछन् ।





























प्रतिक्रिया