काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याइ उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो ।
यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पुर्याएका थिए ।
घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा रु एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो ।
आव ०७४/७५ मा प्राधिकरणको नाफा रु एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ । सञ्चालन नाफा रु सात अर्ब ८६ करोड रहेको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०।४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो ।































प्रतिक्रिया